Logo

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र



काठमाडौं, साउन १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ । डा पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड पनि विस्तार गर्न लागेको जानकारी दिए।

उनले देशभर थप एक हजार चार सय एचडीयू बेड विस्तार गर्न लागिएको बताए। हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी क्षेत्रका अस्पतालमा ७७८ एचडीयू बेड सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९०४ पु¥याइएको र १८० थप्न लागिएको जानकारी दिए। कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले पाँच हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिए ।

यस्तै तीन हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा रहेको जानकारी गराए । डा पौडेलले छ हजार ३७७ अक्सिजन सिलिन्डर थप गरिएको बताए। यस्तै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्याङ्क थप गर्ने योजनाअन्तर्गत दुईवटाको कार्य सम्पन्न गरिएको बताए।

उनले विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई कोभिड–१९ विरुद्धको खोप समयमै उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जनाए । मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालसम्म भारत सरकारको अनुदानबाट प्राप्त १० लाख र नेपाली सेनालाई प्राप्त एक लाख, भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा कोभ्याक्सबाट प्राप्त तीन लाख ४८ हजार मात्रा सहित कुल २४ लाख ४८ हजार कोभिसिल्ड खोप प्राप्त भएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्