Logo

श्रमिकलाई सधैं समस्याः ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’



काठमाडौं, साउन १७ । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन्। कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन्। रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए। ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको थिइनँ,’ उनले भने, ‘बल्लतल्ल शुक्रबार खोप लगाएको प्रमाणीकरण भएको छ। यसरी प्रमाणीकरण हुनुलाई मैले युद्ध जितेजस्तो ठानेको छु।’

उनलाई खोप लगाएको प्रमाणीकरण गर्न जति कठिन भयो, त्यसरी नै कोरोनाविरुद्ध खोप लगाउँदा पनि गाह्रो भएको थियो। उनका अनुसार करिब सात घण्टा लाइन बसेपछि मात्र जोनसन एन्ड जोनसन कम्पनीको खोप लगाउने मौका मिलेको थियो। कोरोनाविरुद्धको खोप लगाउन र लगाएपछि खोपको प्रमाणीकरण गर्न अप्ठेरो भोग्ने यादव एक्ला होइनन्।

अर्को साता रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्। खोप पाउने आशामा विभिन्न अस्पताल पुग्ने गरे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सक्दो खोजी गरेको हुँ,’ उनले भने, ‘तर व्यवहारमा त्यस्तो रहेनछ।’

झापाका अर्जुन गिरीको अवस्था त्यस्तै छ। रोजगारीका लागि कतार जान श्रम स्वीकृति लिइसकेका उनले कोरोना भाइरसविरुद्ध खोप लगाउन पाउने आशामा थुप्रै स्वास्थ्य संस्था पुगिसकेको बताए। जहाँ पुगे पनि खोप छैन भन्ने जवाफ आउने गरेको उल्लेख गर्दै उनले भने, ‘अहिले सेना र प्रहरीको अस्पतालमा वैदेशिक रोजगारीमा जानेलाई खोप दिने भन्ने हल्ला सुनेको छु। आइतबार ती अस्पताल जानु पर्ला।’

कोरोना महामारीपछि होस् वा अघि, जसरी वैदेशिक रोजगारीमा जानेलाई राज्यको तर्फबाट बेवास्ता भइरहेको छ, त्यही क्रम कोरोनाविरुद्धको खोप लगाउने बेलामा पनि भइरहेको छ। उनीहरूलाई खोप केन्द्रमा बस्ने स्वास्थ्यकर्मीले ‘चाहे खोप दिने नचाहे नदिने’ व्यवहार भइरहेको छ। वैदेशिक रोजगारीमा जानेले कोरानाविरुद्धको खोप नलगाउने हो भने कतिपय मुलुकले प्रवेशमा अनुमति नदिने र कतिपयले महँगो क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनअघि नै खोपको उपलब्धता गराउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो। सो आग्रहपछि स्वास्थ्यका अधिकारीले वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने आश्वासन दिएका थिए।

सो आश्वासनपछि वैदेशिक रोजगारीमा जानेले कोरोनाविरुद्धको खोप पाउने आशा गरेका थिए। तर यतिखेर उनीहरूले सहजै खोप पाउन नसकेपछि वैदेशिक रोजगारीमै समस्या पर्ने व्यवसायीको चिन्ता छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्