Logo

बसपार्क निर्माणमा ढिलासुस्ती



राजविराज, १७ साउन: नगरवासीको चाहना र सपनाका रुपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन ।

निर्माण कार्यको समय अवधिसमेत समाप्त भएको सात महिना बितिसकेको बताइएको छ । शहरी विकास मन्त्रालयबाट रु १६ करोड ३८ लाख ९६ हजार ५१९ मा काम गर्ने ठेक्का पाएको काठमाडौँको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालीले उक्त बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नुपर्ने समय निर्धारण गरिएको थियो । सुस्तगतिमा काम गर्दा म्याद सकिएको सात महिना भन्दाबढी भइसक्दा पनि ५० प्रतिशत काम मात्र भएको पाइएको छ ।

निर्माण कम्पनीले कहिले कोरोनाको बहना, निर्माण सामग्रीको अभाव तथा मन्त्रालयबाट समयमै रकम निकासा नपाएको भन्दै निर्माण कार्यप्रति आलटाल गरिरहेको राजदेवी टोलका चन्दन यादवको भनाइ छ । बसपार्क समयमा निर्माण नहुँदा त्यहाँका रुपनी सडक, गजेन्द्रचोक, नेता चोक, कुनौली मोड, राममन्दिर मोड र सखडा रोडलगायतका स्थानबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सचालनमा छन् ।

राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माणकार्य सम्पन्न गर्न नसकेका ठेकेदार कम्पनीलाई पटकपटक सचेत गराइएको जानकारी दिँदै अब पनि ढिलाइ गरे ठेक्का रद्द प्रक्रिया अघि बढाउन पहल गरिने बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्