Logo

ओली पक्षमा एमाले फुटाउन खोज्नेको खोजी र समिक्षा



काठमाडौं, १७ साउन । नेकपा एमाले फुटको संघारमा छ । औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको दोहोराएका छन् । यसअघि बालुवाटार छाडेर बालकोट पुग्दा पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । तर, सहमतिका लागि ब्याक भएर प्रयास गरेका थिए । यसपटक भने उनले कडा रुपमा नेपाललाई एमालेमा स्थान नभएको बताए ।

ओलीले माधव नेपाललाई एमालेमा स्थान नभएको बताएपछि उनी एमाले छाड्न या फुटाउन पूर्ण रुपमा तयार भइसकेका छैनन् । ओलीलाई एमालेबाट हटाइछाड्ने भन्दै आफूपक्षका नेताहरुलाई दृढताका साथ उभिन आग्रह गर्दै आएका छन् । नेपालले वार कि पार गर्न अलमल गरिरहँदा एमालेको ओली पक्षमा भने पार्टी फुटाउन खोज्ने देशभित्र र बाहिरका शक्तिहरुको खोजीनीति चलेको छ ।

ओलीनिकटस्थमाझ एमाले फुटाउन अन्तर्राष्ट्रिय शक्ति नै लागेको विषयबारे समिक्षा समेत भएको बुझिएको छ । एमसीसीको विषयबारे पनि समिक्षा चलेको विश्वस्त स्रोतले बताएको छ । अमेरिका र चीनबीच द्वन्द्व, भारतको देखि युरोपेलीहरुको नेपाल मामलामा बढेको चासोबारे पनि समिक्षा भएको बुझिएको छ । यसको असर नेपालको सत्तासंघर्षमा देखिएकोबारे पनि ओली खेमामा गहन छलफल भएको बुझिएको छ ।

एमाले विभाजनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड निकै सक्रिय भएकोबारे पनि ओली खेमामा समिक्षा भएको छ । पछिल्लो समय प्रचण्डको कोटेश्वर दौडधूपबारे ओलीवृत्तमा चासो बढेको छ ।

माधव नेपाल पक्षमा पुगेका बामदेव गौतम पनि विभाजनमा लागेको ओली खेमामा चर्चा चल्ने गरेको छ । विगतमा एकता अभियानमा लागेका गौतमको पछिल्लो भूमिकाप्रति ओलीले निकटस्थसँग कडा टिप्पणी गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्