Logo

माधव नेपाल अलमलिएपछि बामदेव असन्तुष्ट



काठमाडौं, १८ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी हुन थालेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गर्दै आएको बैठकमा आइतबार गौतम सहभागी भए । यसले एमालेभित्रको राजनीतिमा नयाँ सम्भावना विकास भएको छ ।

गौतमले एमाले एक हुञ्जेल स्थायी कमिटी मान्नुपर्ने तर्क राख्दै आएका थिए । उनी बैठकमा सहभागी भएर माधव नेपालमाथि दबाब सृजना गर्दैछन् ।

विश्वस्त स्रोतका अनुसार गौतम एमाले विवादमा वर कि पार लगाउन नेता नेपाललाई भन्दै आएका छन् । नेपालले अलमल गरेकोमा असन्तुष्ट छन् ।

ओलीसँग असन्तुष्ट गौतम माधव नेपाललाई साथ दिएर सांसद पनि जुटाउन सक्रिय भएका थिए । उनको पहलले ७ जना सांसदले गुट परिवर्तन गरेका थिए । तर, सरकारमा जान आनाकानी गरेपछि गुट परिवर्तन गरेका सांसदहरु असन्तुष्ट बनेका छन् । गौतम पनि नेपालमाथि दबाब सृजना गरी छिटो टुंगोमा पुग्न भनिरहेका छन् ।

माधव नेपाल आफू पक्षमा रहेका सांसद र केन्द्रीय सदस्यहरुलाई धैर्य गर्न आग्रह गरिरहेका छन् । उनी तत्काल एमाले फुटाउन तयार देखिएका छैनन् । एमालेभित्र पकड बढाएर ओलीलाई अध्यक्षबाट हटाउन लागिपरेका छन् । तर, त्यो सजिलो छैन ।

अहिलेको स्थितिमा नेपाललाई उपाध्यक्ष भीम रावलले साथ छाडेका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्यलगायतका नेताहरु पनि पार्टी विभाजनको पक्षमा छैनन् । यसकारण नेता नेपाल अप्ठ्यारोमा छन् । उनी एमालेमै रहेर संघर्ष गर्ने पक्षमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्