Logo

कामकाजी आमालाई पूर्ण स्तनपानमा समस्या



कैलाली, १८ साउन । कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुन्। उनको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर रुपकला आजभोलि नियमित कार्यालय जान थालेकी छिन् । कार्यालय जान थालेपछि उनले बच्चालाई नियमित स्तनपान गराउन पाएकी छैनन् ।

“दुई महिना घरमै बस्न पाएकाले नियमित दूध खुवाउँथे, अब जागिर गर्नुप¥यो, आजभोलि नियमित दूध खुवाउन पाउँदिन”, रुपकलाले भने, “कार्यालयमै बच्चा लैजाने खालको वातावरण छैन, बच्चा कहाँ राख्नु रु, स्तनपान कक्ष पनि छैन, अझ कोरोना सङ्क्रमणको डर छ, त्यसैले घरमै सासुआमाले गाईको दूध खुवाएर राख्नुहुन्छ ।”

स्तनपान आमा र बच्चा दुवैका लागि अतिआवश्यक हुन्छ । स्तनपानले बच्चा र आमा दुवैको स्वास्थ्य सुधार गर्छ । चिकित्सकका अनुसार बच्चालाई नियमित स्तनपान गराउँदा बच्चा स्वस्थ हुनाका साथै विभिन्न रोगबाट लड्ने क्षमता प्राप्त हुन्छ । स्तनपानको महत्व बुझाउन आइतबारदेखि कैलालीका पालिकाले स्तनपानको महत्व बुझाउन विभिन्न कार्यक्रम पनि गरिरहेका छन् । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न पालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहे पनि कामकाजी आमालाई पूर्ण स्तनपान गराउन समस्या छ ।

किसान सहकारीमा कार्यरत शान्ति कोइरालाको पनि सानो बच्चा छ । शान्तिले पनि कार्यालयको कामसँगै बच्चालाई नियमित दूध खुवाउन समय व्यवस्थापनमा समस्या भएको उनको अनुभव छ । “छ महिनासम्म म र बच्चा दुवैलाई गाह्रो भयो, घरमै बस्ने आमाजस्तो पटकपटक दूध खुवाउन सकिँदैन”, कोइरालाले भने, “घरमा सासु, ससुराले राम्ररी स्याहार्नु भएको छ, छ महिनापछि त अहिले अन्य खानेकुरा खाने गरेकाले सजिलो छ, तर पटकपटक दूध खुवाउन पाएन भन्ने लागिरहन्छ ।”

धेरै आमालाई स्तनपान अनिवार्य गराउनुपर्छ भन्ने राम्रो ज्ञान छ तर कोरोना महामारी, कार्यालयको काम आदि कारणले आमाले सोचेजस्तै पूरा समय बच्चालाई दिन पाएका छैनन् । टीकापुर नगरपालिकामा स्तनपान कक्ष छ तर कोरोना महामारीकै समयमा बच्चा जन्मिएकाले नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडलाई पनि पूर्ण स्तनपान गराउन समस्या भयो ।

“कार्यालयमा स्तनपान कक्ष छ, बच्चा कार्यालय ल्याउन महामारीको जोखिम भएकाले घरमै राखे, यो महामारीले पनि स्तनपानमा समस्या भयो”, ओडले भने, “पूर्ण स्तनपान पाउनु बच्चाको नैसर्गिक अधिकार भए पनि जागिरे आमालाई गाह्रो हुने रहेछ, कार्यालय समयको बीचमा काम मिलाएर दूध खुवाउन जान्थे, तर सेवाग्राहीको गुनासो सुन्नुप¥थ्यो, निकै कठिन भयो ।”रासस



प्रतिक्रिया दिनुहोस्