Logo

एमसीसीका कारण एमालेभित्र गुट परिवर्तन तिव्र



काठमाडौं, १८ साउन । नेकपा एमालेभित्र अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को असर देखिन थालेको छ । एमसीसीका कारण एमालेभित्र गुट परिवर्तन तिव्र भएको छ ।
एमालेका कतिपय प्रभावशाली नेताहरु एमसीसीबारे खुलिसकेका छन् । कतिपय भने मौन छन् । तर, उनीहरु पक्ष विपक्षमा देखिएका छन् । एमसीसी संशोधन विना पारित गर्न नहुने पक्षमा एमाले उपाध्यक्ष भीम रावल छन् । उनले एमसीसीका केही बुँदाप्रति आपत्ती जनाउँदै राष्ट्रघात हुने बताइसकेका छन् ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी पारित गर्नु पर्ने पक्षमा थिए । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरकेो भन्दै कडा आलोचना गरेका थिए । तर, सत्ताबाट बर्हिगमन भएपछि ओलीको एमसीसीबारे धारणा आएको छैन ।

ओलीनिकट नेता गोकुल प्रसाद बाँस्कोटाले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत गर्न चुनौती दिएका छन् । एमालेभित्र एमसीसीविरोधी नेताहरु विस्तारै ओलीतिर ध्रुवीकृत हुँदै गर्दा उनको भनाई सार्वजनिक भएको हो । रावल पछिल्लो समय माधव नेपाललाई छाडेर ओलीसँग नजिकिएका छन् ।

एमाले उपाध्यक्ष बामदेव गौतम पनि एमसीसीप्रति सकारात्मक छैनन् । उनी माधव नेपाल पक्षबाट विस्तारै ओली खेमातर्फ देखिन थालेका छन् । नेपालले पार्टी विभाजनका लागि नेपालले निर्णय लिन ढिलाई गरेको भनेपनि गौतम अन्य कारणले पनि असन्तुष्ट देखिन थालेका छन् । एमसीसी पारित गर्न देउवा सरकार अगाडि बढ्ने संकेत पाएसँगै उनी परिवर्तन हुनथालेका हुन् ।

ओलीले विगतमा एमसीसी रणनीतिक तरिकाले संसदबाट पारित हुन रोकेको चर्चा पनि छ । उनी बाहिर जे बोलेपनि एमसीसी पारित गर्ने पक्षमा थिएनन् भन्ने एमालेभित्र विकसित घटनाक्रमले पुष्टि गर्ने आधार प्रदान गर्दैछ । अब एमसीसी प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत भएमा ओली पक्ष या विपक्षमा पुग्नेछन् ? चासोको विषय छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीका पक्षधर हुन् । उनी चौंथो पटक प्रधानमन्त्री हुँदा एमसीसी योजना आएको थियो । तर, संसदबाट पारित गर्नुपर्ने शर्त पूरा भएको छैन । अब प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्ने तयारीमा छन् । एमालेको ओली पक्षले एमसीसी विरोधी माधव नेपाल पक्षका नेताहरुलाई छाति खोलेर स्वागत गरिरहेको छ । यो आफैमा अर्थपूर्ण छ ।

एमालेभित्र एमसीसीविरोधीहरु एकढिक्का हुँदै गएका छन् । उनी ओली या नेपाल जुनसुकै गुटमा भएपनि एक भएर कुनै एउटा गुटमा जम्मा हुन थालेका छन् । एमसीसीकै कारण एमालेभित्र ध्रुवीकरण बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्