Logo

प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्ने पक्का, माधव नेपालले दिए ग्रिन सिग्नल



काठमाडौं, १८ साउन । नेकपा (एमाले) बाट प्रेम आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने पक्का भएको छ । फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत दिएका एमालेका २२ सांसदमध्ये यी दुई यसअघि नै मन्त्री बन्ने हल्ला चलेको थियो ।

तर, आले र श्रेष्ठले दुवैले आफूहरुले मन्त्री बन्नको लागि भन्दापनि संविधान र कानूनको पक्षमा, र सर्वोच्च अदालतको फैसलाको सम्मानको लागि देउवालाई विश्वासको मत दिएको स्पष्ट पार्दै आएका थिए । उनीहरुले आफूहरु प्रतिनिधिसभाको पूरा कार्यकालको पक्षमा रहेको पनि टिप्पणी गर्दै आएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको क्याम्प परिवर्तन गरी वरिष्ठ नेता माधव कुमार नेपालको क्याम्पमा प्रवेश गरेका आले र श्रेष्ठ दुवै जना मन्त्री बन्न ईच्छुक भएको र त्यहीअनुसारको तयारी गरेको चर्चा थियो । यो बीचमा आले र श्रेष्ठले वरिष्ठ नेता नेपाललाई आफ्नो समूह सरकारमा सहभागी हुनुपर्ने भन्दै दबाब बढाएका थिए । तर, नेता नेपालले भने केही समय पर्खनुपर्ने भन्दै तत्काल सरकारमा सहभागी हुन नसक्ने जवाफ दिँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले पनि अब मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्न नहुने भन्दै नाम दिनको लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुसँग आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाको आग्रहपछि सत्ता घटक दलका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले त आफ्नो समूह ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन गइरहेको दाबी नै गरेका थिए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले यस्तो दाबी गरेका थिए । उनले आफूहरु नयाँ पार्टी गठन गरेर अघि बढ्न लागेको समेत खुलासा गरेका थिए ।

वरिष्ठ नेता नेपालले आफ्नो समूहबाट आले र श्रेष्ठलाई मन्त्री बन्नको लागि ग्रिन सिग्नल दिएको उच्च स्रोतको दाबी छ । स्रोतकाअनुसार आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री र श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिन लागिएको छ । अब हुने मन्त्रिपरिषद् विस्तारमा आले र श्रेष्ठ दुवै मन्त्री बन्ने पक्का रहेको माधव नेपालनिकट उच्च स्रोतको दाबी छ । उनीहरु पार्टीले कारबाही गरेपनि ६ महिनाको लागि भएपनि मन्त्री बन्ने तयारीमा छन् । सांसद नभएपनि ६ महिनाको लागि मन्त्री बन्न पाईने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्