Logo

म्याद गुज्रेका सामानमा नयाँ मिति राखी बिक्री गर्ने २ जना पक्राउ



काठमाडौं, १८ साउन । म्याद गुज्रेका सामानमा नयाँ मिति राखी बिक्री गर्ने २ जना पक्राउ परेका छन् । म्याद गुज्रेका विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा करिब २ करोड मूल्य बराबरको सामान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १३ छाउनी बस्ने पर्सा वीरगंज महानगरपालिका १३ घर भएका ३१ वर्षीय अबिनाष अग्रवाल र काठमाडौं महानगरपालिका १५ सानो भर्‍याङ बस्ने भारत राजस्थान सिकर घर भएका ४१ वर्षीय महाबिर गजुर रहेका छन् ।

विभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मितिलाई उप्काई स्टिकरमा नयाँ मिति राखी बिक्री भइरहेको खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

साथै काठमाडौं महानगरपालिका १५ सानो भर्‍याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको घरबाट करिब १ करोड रुपैयाँ बराबरको पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी गरी राखेको म्याद गुज्रेका कस्मेटिक सामान र काठमाडौं महानगरपालिका २२ भोटेबहालको गोदामबाट १ करोड रुपैयाँ बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु गरी जम्मा २ करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको जनाएको छ ।

उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमल काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्