Logo

एमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?



काठमाडौं, १८ साउन ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । उनले भने,‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले भने,‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ । संक्रमणकालिन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ । यसमा नेपालको आन्तरिक राजनीतिक कारणपनि छ, अर्को बाहृय शक्तिको पनि हात छ । र, न्यायलयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सत्तापक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेर घोषणा गरेपनि त्यो उनीहरुको पराजित मानसिकता भएको टिप्पणी गरे । उनले आफूहरु केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको सुनाए । उनले केपी ओलीको किड्नी फेल भएको छ, यो मरिहाल्छ अनि हामी राजकाज चलाउन पाउँछौं भनेर सोचेकाहरुले केपी ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेर फर्किएपछि षड्यन्त्रमा लागेको आरोप लगाए ।

आफूहरु निर्वाचनको पक्षमा रहेकोले जहिल्यैपनि निर्वाचनमा जान तयार रहेको पोखरेलको भनाई छ । उनले भने,‘हिजो निर्वाचनलाई प्रतिगमन देख्नेहरु आज यिनीहरुले निर्वाचन गर्छनजस्तो मलाई चाहीँ लाग्दैन् ।’ उनले सत्तापक्षीय गठबन्धनले निर्वाचन गराउनुभन्दापनि बरु अदालतबाटै १० वर्ष नै यो सरकारको आयु लम्ब्याउन मिल्ने भए त्यतातिर जानसक्ने टिप्पणी गरे । उनले भने,‘किनभने सेटिङमा अदालतबाट फैसला गराउनुभएको छ।’ उनले चुनाव त आफूहरुको माग भएको जिकिर गरे । उनले कांग्रेस, माओवादी केन्द्र र जसपालगायतको गठबन्धनलाई कथित गठबन्धनको संज्ञा दिँदै यसले निर्वाचन गराउन नसक्ने दाबी गरे ।

उनले केपी ओली नेतृत्वको सरकार त चुनावमाफर्त आएको उल्लेख गर्दै प्रतिक्रान्तिवादीहरुले जनताबाट निर्वाचित भएर आएको सरकार बनेकै दिनदेखि ढाल्न षड्यन्त्र गरेको सुनाए । ओली सरकार ढाल्नको लागि धेरै प्रयत्न गर्दापनि नसकेपछि अन्तिममा न्यायलयलाई प्रयोग गरेर ढालेको पनि सुनाए । उनले भने,‘एक किसिमले यो कू नै हो । षड्यन्त्रमूलक सत्ताच्यूत हो ।’

एमालेभित्रको अन्तरकल समाधानको लागि अहिले प्रयास भैरहेको पनि सुनाए । आफूहरुको नवौं महाधिवेशनको दस्तावेजमै कांग्रेस प्रतिष्पर्धी पार्टी उल्लेख गरिएकोमा माधव नेपाल समूहले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनको लागि भूमिका खेल्नु पार्टी हित र कम्युनिष्ट आचरण बाहिरको कुरा भएको पनि पोखरेलको भनाई छ । उनले भने,‘माधव नेपालहरुको कदम यो सरासर धोका हो । गद्दारी हो ।’

उनले आफूहरुले माधव नेपालले अघि सारेका ६ बुँद माग पनि पूरा गरेको र हुँदाहुँदै पार्टी एकताको लागि अध्यक्ष पनि दिन तयार भएको सुनाए । तर, नेपालले भने अध्यक्ष पनि लिन नमानेको उनको भनाई छ । उनले माधव नेपाल समूह सरकारमा जाने कुरामा आफूलाई विश्वास नभएको पनि सुनाए । उनले भने,‘मलाई विश्वास छ, उहाँहरु सरकारमा जानुहुन्न । जानुभयो भने त्यही दिन कुरा गरौंला ।’ उनले एमाले भनेको सामाजिक सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता र विकासको पर्यावाची भएको पनि सुनाए ।

उनले अर्को महाधिवेशनसम्म नभएसम्म अध्यक्ष ओलीको विकल्प नभएको र कसैले चाहेर पनि हटाउन नसक्ने टिप्पणी गरे । सहमतिमा नआए माधव नेपाललगायत उनको समूहका नेताहरुलाई २०५४ सालमा वामदेव गौतमलाई माधव नेपालले जसरी कारबाही गरेका थिए त्यसैगरि कारबाही गर्ने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्