Logo

सांसद पद गुम्ने भएपछि बिमला वली एमालेमा फर्किइन्



काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले पार्टीको ह्वीप उल्लंघन गर्ने र परित्याग गर्ने सांसदहरुलाई पुर्नबहाली गर्ने यसअघिको अन्तरिम आदेश खारेज गरी पदमुक्तको फैसला गरेपछि नयाँ घटना विकास भएको छ । सुर्य चिन्हबाट निर्वाचित भएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली यसअघि एमाले परित्याग गरी माओवादी केन्द्र रोज्ने निर्णयबाट ब्याक भएकी छिन् ।

वलीले आज विज्ञप्तिमार्फत् आफू एमालेमै रहेको स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘मैंले सुर्य चिन्हबाट चुनाव जितेको र अहिले सुर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठिक नभएकले एमालेमै रहेको स्पष्ट पार्दछु ।’

प्रदेशसभामा क्रियाशील हुँदै गर्दा पार्टीभित्र आफ्ना केही गुनासाहरु रहेको समेत उल्लेख गरेकी छिन् । उनले ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमालेप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेकी छिन् ।
वलीले १९ वैशाखमा माओवादी रोजेको बताएकी थिइन् । विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर समेत गरेकी थिइन् ।

आज गठबन्धनले ४१ सांसदको हस्ताक्षरको निवेदनसहित लुम्बिनी प्रदेशमा बहुमतको दाबी गरेका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई निवेदन दर्ता गरेकै दिन वलीको निर्णय आएको हो । यसले लुम्बिनी प्रदेशको सत्ता संघर्षमा नयाँ घटना विकास भएको छ ।

प्रदेश सभाका ८० सांसदमध्ये अब गठबन्धनसँग ४० मात्र संख्या पुगेको छ । यो बहुमतको सरकार गठनका लागि पर्याप्त संख्या होइन ।



प्रतिक्रिया दिनुहोस्