Logo

एमाले नेतृ थापा निवासमा प्रचण्ड र माधव नेपाल बीच भेटवार्ता



काठमाडौं, साउन १९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल बीच भेटवार्ता सुरु भएको छ ।

कोटेश्वर खरिबोट स्थित माधव कुमार नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको निवासमा भेटवार्ता जारी रहेको छ ।
विहान ९ देखि सुरु भएको भेटवार्तामा सरकार विस्तार, सरकारमा माधव कुमार नेपाल पक्षको सहभागीता लगायतका विषयमा छलफल केन्द्रित रहेको बुभिएको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले सरकारको नेतृत्व गरेको मंगलबार २२ दिन पुगेको छ । सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुलमन्त्री र एक राज्यमन्त्री गरी ६ जना रहेका छन् । स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीको भरमा छ । सत्ता सहयात्री दलहरूबीच भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा, नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दल आबद्ध छन् ।

मुख्य नेतृत्वकर्ता दल कांग्रेसबाट अझै को–को मन्त्री बन्ने टुंगो लागेको छैन । कांग्रेसमा गुटअनुसार मन्त्रीको सूची बनाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।

माओवादी केन्द्रमा मन्त्रीका लागि आकांक्षी धेरै हुँदा अध्यक्ष पुष्पकमल दाहाल हैरानीमा छन् । जसपाले समेत सरकारमा पठाइने मन्त्रीबारे निर्णय लिन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ ।

त्यस्तै, आजै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार देखिएका छन्। आज साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने एमाले स्रोतले जनाएको छ ।

photo source: file photo



प्रतिक्रिया दिनुहोस्