Logo

प्रचण्ड, माधव नेपाल, बाबुराम र उपेन्द्रसहितको एकीकृत पार्टी गठनको पहल



काठमाडौं, १९ साउन । देशको राजनीतिमा तिव्र ध्रुवीकरण भइरहँदा चार प्रमुख नेताहरु मिलेर नयाँ दल निर्माणको पहल थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एकीकृत पार्टी गठनको पहल थालेका हुन् ।

समाजवादलाई पार्टीको मूल सिद्धान्त बनाएर गठनको पहल भइरहेको बुझिएको छ । आगामी चुनावमा सबैभन्दा बलियो शक्तिका रुपमा उभिने गरी एकताको पहल बढेको हो ।

एकीकृत समाजवादी पार्टी निर्माणमा माओवादी अध्यक्ष प्रचण्ड र जसपा नेता डा.बाबुराम भट्टराई बढी सक्रिय रहेको बुझिएको छ । प्रचण्डले माधव नेपाललाई त्यसकारण पनि बारम्बार भेट्दै आएका छन् । उनले ढुक्क साथ अगाडि बढ्न आग्रह गरेको बुझिएको छ । नेपाल पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निडरताका साथ जुध्नुको पछाडि यही कारण देखिएको छ ।

मधेशमा राम्रो पकड भएका उपेन्द्र यादव र पूर्वी पहाडमा पकड भएका अशोक राईलाई समेत मिलाएर एकीकृत पार्टी गठनको पहल निकै अगाडि बढिसकेकाले माधव नेपाल ब्याक हुने सम्भावना कमजोर देखिएको छ । बरु प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई समेत समेटेर अगाडि बढ्ने तयारी गरेका छन् ।

एकीकृत समाजवादी पार्टीले कम्युनिस्ट शब्द त्याग्ने सम्भावना रहेको बुझिएको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई कम्युनिस्ट शब्द राख्ने पक्षमा सहमत नहुने भएकाले त्यो हटाएर समाजवादी नाम नै राख्नेबारे समेत छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्