Logo

इजरायली ट्याङ्कर हमलामा इरानको हात छ : इजरायल



१९ साउन: इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् । उनले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूसँग रहेको दाबी पनि गरेका छन् । उनको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् ।

बेलायत र अमेरिकाले इरानको हात रहेको आफूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तरराष्ट्रिय कानुनको विपरीत रहेको पनि बताएका छन् ।

इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेनेटले यसबारेमा चेतावनी दिँदै इरानलाई कसरी जवाफ दिनुपर्छ भन्ने कुरा आफूलाई थाहा भएको भनेपछि यता इरानले यस घटनामा आफ्नो हात नरहेको भनी स्पष्ट गरेको छ । तेहरानले यसलाई आधारहिन आरोप भनेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरायल र इरानबीचको अघोषितरुपमा एक किसीमको तनाव बढाउने पछिल्लो घटनाका रूपमा आएको विदेशी समुदायले दाबी गरेका छन् ।

गएको मार्चदेखि इरान र इजरायलले सञ्चालन गर्दै आएका कैयौँ पानीजहाजमा आक्रमण भएको देखिएको छ । पछिल्लो पटक भने इजरायलको स्वामित्वको एक कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक ट्याङ्करमा गत बिहीवार आक्रमण भएको थियो । ओमानी तटमा सो ट्याङ्करमाथि आक्रमण भएको थियो । सो आक्रमणमा परी ज्यान गुमाउनेमा एक ब्रिटिश र एक जना रुमेनियाली नागरिक रहेका जनाइएको छ । उक्त हमलामा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्