Logo

२ अर्बको ठेक्कामै सेटिङ, छनोटका लागि कम्पनीसँग पहिल्यै कुरा मिलाएर टेन्डर



काठमाडौं, १९ साउन । पूर्वाधार क्षेत्रमा पहिल्यै सेटिङ गरेर टेन्डर आव्हान हुने प्रवृत्ति बढेर गएको छ । पहिल्यै कम्पनी विशेषसँग साँठगाँठ गरी टेन्डर पार्ने योजना मिलाएर बोलपत्र आव्हान गर्ने प्रवृत्ति बढेर गएको हो । यसको पछिल्लो उदाहरण स्थानीय पूर्वाधार विकास (डोलि) अन्र्तगतको स्थानीय पुल सेक्सनले आव्हान गरेको बोलपत्र हो ।

पुल निर्माणमा प्रयोग हुने स्टिल वायर डोरी र बुलडग ग्रीप्सका लागि २ अर्ब नेपाली रुपैयाँ बराबरको ग्लोबल टेन्डर २४ असारमा आव्हान गरिएको छ । जसमा बोलपत्रमा प्रतिष्पर्धी निर्माता कम्पनि नै हुनुपर्ने उल्लेख छ । टेन्डरको बुँदा नम्बर ३ मा वाइर रोपको ठेक्कामा स्टिल वाइर रोपकै निर्माता कम्पनीले मात्र प्रतिष्पर्धा गर्न पाउने भनिएको छ । बुलडग ग्रिप्समा पनि उत्पादक कम्पनी आफै मात्र प्रतिष्पर्धी बन्न सक्ने भनिएको छ ।

वाइर रोप र बुलडग ग्रिप्सको उत्पादकबारे पनि मापदण्ड तोकिएको छ । निर्माता कम्पनीको क्षमता देखि विभिन्न शर्त राखिएको छ । यसबाट कुनैपनि एजेन्टले प्रतिष्पर्धामा भिड्न नपाउने गराइएको छ । विगतमा ग्लोबल टेन्डरमा यस्ता सामाग्री खरिदमा एजेन्ट कम्पनीले प्रतिष्पर्धा गर्न पाउने व्यवस्था गरिनेमा सिधै कम्पनीले मात्र प्रतिष्पर्धा गर्न पाउने शर्त राखेर रोकिदिएको छ । निर्माता कम्पनीको स्थानीय आधिकारिक कम्पनीले बोलपत्रमा भाग लिन नपाउने गराएर सिधै खास कम्पनीलाई पार्ने गरी सेटिङ भइसकेको खुलेको छ ।

देशमा पछिल्लो समय टेन्डर खोल्दा नै खास कम्पनीलाई पार्ने उद्देश्यले विभिन्न शर्तहरु झुण्ड्याइन थालिएको छ । अन्य कम्पनीहरुले प्रतिष्पर्धामा भाग लिन नपाउन् भन्ने उद्देश्यले यस्तो गरिएको हो । जसका कारण प्रतिष्पर्धामा थोरै कम्पनीमात्र सहभागी हुने गर्छन् । प्रतिष्पर्धा कम कम्पनीले गर्दा राज्यलाई ठूलो आर्थिक नोक्शानी पर्ने गरेको छ ।

कतिपय प्रि क्वालिफिकेशनमा एउटा मात्र कम्पनि छानिने र उसैको मनोमानी हुने गर्छ । त्यस्ता कम्पनीहरुले आर्थिक प्रस्ताव घटाउनुको साटो उल्टै खर्च बढ्ने गरी सक्रियता बढाउने गरेका छन् । देशका ठूलो निर्माण आयोजना देखि सामाग्री खरिदमा यस्ता गतिविधि बढेको छ । राज्यलाई अरबौं नोक्शानी पुर्याउने देखि अनियमितता समेत गर्नेहरु देखिएका छन् ।

स्टिल वायर र बुलडग ग्रीप्सको ठेक्कामा पनि विभिन्न शर्तहरु तेर्साएर प्रतिष्पर्धी विहिन बनाएर निश्चित कम्पनीलाई दिलाउने योजना बुनिएको देखिएको छ । प्रतिष्पर्धाविहीन बनाएर टेन्डरमा एकलौटी खास कम्पनीकै छनोट हुने अवस्था बनाउन खोजिएको छ ।



प्रतिक्रिया दिनुहोस्