Logo

विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याइँदै



काठमाडौं, १९ साउन । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने योजनासहित प्रक्रिया बढेको छ । उनलाई ल्याउनका लागि प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने प्रक्रिया थालिएको छ ।

शाक्यलाई राजीनामा दिन ऊर्जामन्त्री पम्फा भुसालले निर्देशन दिएपनि अस्वीकार गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा भुसालले राजीनामा दिन निर्देशन दिंदा उनले अस्वीकार गरेको बुझिएको छ ।

शाक्यले राजीनामा दिन अटेर गरेपछि उनीसँग स्पष्टिकरण सोध्ने तयारी भएको छ । स्पष्टिकरण सोधेर हटाउने गरी सरकार अगाडि बढेको छ ।

प्राधिकरणमा यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ल्याउन माओवादी अध्यक्ष प्रचण्डले जोडबल गरेका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार छँदा पनि प्रचण्डले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिन दबाब दिएका थिए । तर, ओलीले हितेन्द्र देव शाक्यलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।

२७ माघ २०७७ मा शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि उनलाई २१ कात्तिक २०७७ मा कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो ।

यसैगरी, शाक्यले हटाइएमा कानुनी उपचारमा जाने तयारी गरेको बुझिएको छ । उनलाई ओली सरकारको कार्यकालमा प्रक्रिया मिलाएर ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्