Logo

‘एमालेलाई एकताबद्ध बनाउने हाम्रो निश्कर्ष हो, सम्माजनक एकता हुन्छ’ : युवराज ज्ञवाली (भिडिओसहित)



नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी एकताको लागि आफूहरु हदैसम्म लचिलो भएको र अहिलेपनि त्यसको लागि प्रयास गरिरहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्–‘अहिलेको समग्र स्थितिको आधारमा हामीले एमालेलाई एकताबद्ध गराउनुपर्छ भन्ने कुरा हाम्रो सर्वसम्मत निश्कर्ष छ । त्यसको आधारमा सम्मानजनक एकता हुन्छ । फेरि त्यो पनि म प्रष्ट पार्न चाहान्छु ।’ प्रस्तुत छ नेता ज्ञवालीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

हिजोको तपाईँहरुको समूहको स्थायी कमिटीको बैठेकमा के–के निर्णय गर्नुभयो ?

हिजो हाम्रो समूहको स्थायी कमिटीको बैठक बस्यो । हामीले लामो छलफल गरयौं । समग्र राष्ट्रिय राजनीतिको विषयमा कुरा भयो । त्यसपछि हामी सामूहिक र साझा रुपमा के निश्कर्षमा पुग्यौं भने अब हामीले नेकपा (एमाले) लाई एकताबद्ध गराउने कुरामा केन्द्रीत भएर लाग्नुपर्छ । हाम्रो कुनै पनि अभिव्यक्ति, क्रियाकलाप र गतिविधिहरु एकतालाई गलत असर पार्ने खालको अथवा नकारात्मक असर पार्नेखालको हुनुहुँदैन । यद्धपी अध्यक्ष कमरेडले केही दिन अगाडिको काठमाण्डौँ जिल्ला कमिटीको बैठकमा कमरेड माधवकुमार नेपाललाई राष्ट्रिय गद्दार, देशद्रोही, अपराधी, लालगद्दार भन्ने अरोप लगाउनुभएको छ । उहाँका यी आरोप बालुवाटावरदेखी घरको बार्दलीमा पुग्दासम्म त्यो दिनदेखि यता पटक–पटक गाली, आरोपहरु, गालि गलौजहरु उहाँबाट आईरहेको छन । एकातिर उहाा पार्टीको अर्को अध्यक्ष पनि दिन तयार छु भनेर सार्वजनिक रुपमा पार्टीको वैठकमा भन्दै आउनु भएको छ । एकताकोलागि तयार छु जेठ २ गते जानको लागि पनि तयार छु भन्दै हुनुहुन्छ । अर्कोतिर लगेर फेरि गालीगलौज गर्दै गद्दार पार्टीमा ठाउँ छैन पनि भन्नुहुन्छ । आज एउटा बोल्नुहुन्छ, भोलि अर्को बोल्नुहुन्छ । यस्ताखालका अभिव्यक्तिहरु उहाँले किन दिनुभएको छ, एउटा गम्भीर विषय छ । यसको आफ्नै किसिमले विश्लेषण गर्न सकिन्छ । हामीले हिजो यस सन्दर्भमा उहाँका अभिव्यक्तिहरुको बारेमा कहिले एकदम सकारात्मक र एकताको पक्षपाती भएको देखिने, कहिले एकतामा भाँजो हाल्ने किसिमले अहिले अभिव्यक्तिहरु दिने गरिरहनुभएको छ । यसको गम्भीर समिक्षा हिजो हामीले गरेका छौँ । तर, हामी के विचारमा छौं भन्दाखेरि उहाँले जस्तोसुकै अभिव्यक्ति दिएतापनि त्यसबाट हामी चिढिने र अरु कुनै किसिमले उहाँलाई जवाफ दिएर प्रतिक्रियामा उत्रिने पक्षमा छैनौं ।

त्यसोभए तपाईँहरु अब केपी ओलीसंग सहकार्य र सम्झौता गर्नेमा पुग्नुभयो होईन ? यदि उहाँहरु तयार हुनुभएन भने पनि आत्मसर्मपण गरेर तपाईँहरु भएपनि पार्टीमा नै बस्ने ?

हाम्रो विचार के छ भने नेकपा एमाले भनेको हामीहरुले निर्माण गरेको पार्टी हो । कमरेड माधवकुमार नेपाल, कमरेड झलनाथ खनालले निकै लामो समयसम्म नेतृत्व गरेको पार्टी हो । त्यसो भएको हुनाले केपी ओली होईन नेकपा एमाले मिलाउन चाहान्छौँ । एमाले मिलाउँदा अध्यक्षको नाताले उहाँसंग पनि सहकार्य गर्नुपर्ने एउटा अवस्था छ । यो यथार्र्थलाई हामी बुझ्दछौ । तर, उहाँका अभिव्यक्तिहरु जुन किसिमले आईरहका छन् । १८० डिग्री फन्को मारेर कहिले राम्रो अभिव्यक्ति आउने, कहिले नराम्रा अभिव्यक्ति आउने, यो किन र के कारणले गरिरहनुभएको छ ? यो सम्पुर्ण नेपाली जनताले सुनिरहेका छन । र सम्पुर्ण नेता तथा कार्यकर्ताले पनि सुनिराखेका छन । स्वयम उहाँको समूहभित्र कमिटीका बैठकमा व्यक्तिगत रुपले छलफल पनि भईरहेको छ । केपीजी के बोल्नुहुन्छ त्यो अलग विषय हो । नेकपा (एमाले)को एकता फरक कुरा हो । त्यसो भएको हुनाले हजारौं हजार नेता÷कार्यकर्ता लाखौँ लाख जनता भएको नेकपा (एमाले) जो हामीले निर्माण गर्यौं । त्यो पार्टीलाई एकतावद्ध पार्ने हामी दायित्व हो । हाम्रो कर्तव्य हो । हाम्रो जिम्मेवारी हो । त्यसो भएको हुनाले हामी कुन नेताले के बोल्छ भन्ने कुरालाई आधार बनाएर एकता गर्ने वा नगर्ने भन्ने टुङ्गो गर्दैनौँ, अहिलेको समग्र स्थितिको आधारमा हामीले एमालेलाई एकताबद्ध गराउनुपर्छ भन्ने कुरा हाम्रो सर्वसम्मत निश्कर्ष छ । त्यसको आधारमा सम्मानजनक एकता हुन्छ । फेरि त्यो पनि म प्रष्ट पार्न चाहान्छु ।

त्यो सम्मानजनक एकता भनेको के हो ज्ञवालीजी ?

सम्मानजनक एकता भनेको सबैभन्दा पहिले त दश बुँदे सहमतिको प्रस्ताव कार्यदलले प्रस्तुत गरिसकेको छ । त्यो एक किसिमको एकता नै हो । त्यसमा पनि अझै परिस्थिति बदलिएको छ । अझै त्यो भनेको के हो भने पुरानो सरकार गएर नयाँ सरकार आईसकेको छ । संविधान लिकमा आएको छ । सर्वोच्चले एउटा फैसला गरिरसकेको छ । नयाँ सरकार आएर संविधान सक्रिय भएको छ । एउटा दिशामा त हिडिँसकेको छ । अब संविधान जोगाउने काममा एउटा हाम्रो दायित्व थियो । एउटा हाम्रो कर्तव्य थियो । हामीले गर्नैपर्ने काम थियो । त्यो हामीले गरिसक्यौ । त्यो पुरा भएको छ । त्यसमा हामी सफल भएका छौं । तर, अब अर्को दायित्व छ । हाम्रो बीचमा त्यो भनेको नेकपा एमालेलाई कसरी एकतावद्ध गर्ने भन्ने सन्दर्भमा कार्यदलले लामो छलफल गरेर निश्कर्ष निकालिसकेको थियो । तर, त्यो दश बँुदा पर्याप्त छैन । त्यसको सन्दर्भमा छलफल चलिरहेको छ अहिले आन्तरिक गृहकार्य घनिभुत रुपमा छलफल भैरहेको छ । त्यसबाट एउटा निष्कर्ष निक्लने पर्वल सम्भावना छ । अध्यक्ष कमरेडका विभिन्न अभिव्यक्तिहरुबाट के स्थिति हुने हो कता जाने हो यो भन्ने भने अहिले सकिन्नँ । तर, एउटा हाम्रो के मा जोड हो भने नेकपा एमालेलाई एकतावद्ध गर्नुपर्छ । त्यो एकता भनेको सम्मानजनक हुन्छ । तपाईँले भनेजस्तो आत्मसर्मपण गरेर कहिल्यैपनि एकता हुँदैन् । एकता भनेको त एक–अर्कालाई सम्मान गरेरमात्रै एकता हुनसक्छ । त्यो एकता गरेर मात्रै हुँदैन । त्यो टिकाउनुपर्छ ।

अब तपाईँको पार्टीभित्र एकताको सम्भावना बढ्यो ?

तपाईँलाई एउटा कुरा के भन्छु भनेदेखी ऋषिजी, केपी कमरेड र माधव कमरेढ बीचको मात्रै एकता होईन यो राम्रोसंग बुझ्नुपर्छ । सिङ्गो नेकपा एमालेको एकता हो । स्थायी कमिटीको बीचको एकता हो केन्द्रीय कमिटीको बीचको एकता हो । र हजारौँ हजार नेता तथा कार्यकर्ता बीचको एकता हो । यो एकताको व्यापक अर्थ छ र यसलाई यसलाई दुई जना नेताको घाँटी निमोठ्नु हुँदैन् । यद्धपी दुबै जना प्रभावशाली नेता हुनुहुन्छ । यो एकता गर्दा उहाँहरुको पनि एकता हो । त्यो महत्वपूर्ण पक्ष हो । यो धेरै नेता कार्यकर्ता र धेरै जनताको एकता हो । त्यसैले यसको व्यापक महत्व छ । उहाँले कतिवेला कहाँ के बोल्नुहुन्छ ? अनि एकतालाई दुष्प्रभाव गर्ने गरेर काम गरिनु हुनुहुँदैन्, कोही कसैले बोल्छ भने आफ्नो हैसियत के हो भन्ने कुरा जसले बोल्नुहुन्छ, उहाँले चाहीँ प्रष्ट रुपमा देखाउने हो । उहाँको संस्कार के हो, उहाँको स्तर के ? यहाँले बुझेको के हो । उहाँको ज्ञान कत्रो छ । बुझाईको स्तर के हो भन्ने कुरा त्यस्ता व्यक्तिबाट प्रष्ट हुन्छ । र दुनियाँले थाहा पाउँछ । दुनियाँले मूल्याङकन गर्छ । तर, त्यसैकारणले यो एकतालाई प्रभावित गर्नुहुन्न भन्ने हाम्रो हिजोको निश्कर्ष हो ।

हिजो अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेर महत्वपूर्ण ?

थाहा छ, थाहा छ, यी जम्मै कुरा हामीलाई थाहा छ । आयोजक कमिटी गठन गरेर सारा पदाधिकारिलाई निश्काषन गरेको नेताहरुलाई पार्टी सदस्यताबाट कारवाही गरेर हटाएको त्यो पनि थाहा छ । उहाँले फेरि कारवाहीलाई फिर्ता लिएको कुरापनि थाहा छ । यी सबै घट्नाक्रम मलाई थाहा छ । ती सबै कुरा ती सबै घट्ना हामीले बुझेका छौँ । त्यो भएर बेला मौकामा कारवाही अनि बेला मौकामा कारवाही फुकुवा गर्ने, कहिलेकाहीँ क्षमा दिने कुराहरु यस्ता थुप्रै किसिमका कुराहरु विभिन्न किसिमले आईरहेका छन । सबै कुराको बाबजुद पनि मुख्य कुरा के हो त भने एकता अहिलेको आवश्यकता हो । नेपालको राजनीतिको नेपालको कम्युनिष्ट आन्दोलनको एकता हो । नेकपा एमालेलाई एकतावद्ध गर्न सकियो भनेदेखि मात्रै कम्युनिष्ट आन्दोलनको वास्तविक एकता हुन्छ । एमालेलाई एकतावद्ध गरिसकेपछि सिङ्गो कम्युनिष्ट आन्दोलनलाई फेरी हामी एकता गर्ने दिशामा जाने हो ।

 



प्रतिक्रिया दिनुहोस्