Logo

दार्चुला घटनाः छानबिन प्रतिवेदन कार्यान्वयन हुन्छ



काठमाडौं, साउन २० । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिएको आरोप स्थानीयवासीको छ ।

गृहमन्त्रालयले उक्त घटनाको सत्यतथ्य जानकारीका लागि भन्दै छानबिन समिति गठन गरेको छ । मन्त्री खाँणले समितिको प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् ।प्रतिनिधि सभामा मङ्गलबार विशेष समय लिएर गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताए। समितिले स्थलगत रूपमा तथ्यका आधारमा प्रतिवेदन बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

उनले भने, ‘‘मन्त्रालयले छानबिन समिति बनाएको छ । सहसचिवको नेतृत्वमा तीन सुरक्षा निकायबाट प्रतिनिधित्व छ । समितिले घटनास्थलमै पुगेर छानबिन गर्नेछ । तुइन तरेका र तर्ने प्रतीक्षामा रहेका व्यक्तिसँग पनि भेटघाट गर्नेछ । समितिले प्राप्त गरेका निष्कर्ष र ठहरलाई सरकारले दृढताका साथ अगाडि बढाउँछ ।’’

समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान कायम राख्ने पनि मन्त्री खाँणको भनाइ छ । उनले महाकालीको तुइन यात्रा चाँडै विस्थापित हुने पनि बताए । निर्माणाधीन चार झोलुङ्गे पुलले चाँडै पूर्णता पाउने पनि उनको भनाइ छ । पुल निर्माणले पूर्णता नपाएका कारण तुइनको यात्रा गर्न नागरिक बाध्य भएको मन्त्री खाँणले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्