Logo

मेलम्चीमा विनाशकारी बाढीपहिरोः एक होइन, बहु कारण कारक



काठमाडौं, साउन २० । मेलम्चीमा एकभन्दा बढी कारणले विनाशकारी बाढीपहिरो निम्ताएको दुईवटा अध्ययन प्रतिवेदनले देखाएका छन्।

असार १ मा मेलम्ची नदीमा भीषण बाढीपहिरो आउँदा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससहित मेलम्ची बजार क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। मेलम्ची नदीमा अचानक ठूलो बाढीपहिरो आएसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल इन्जिनियरिङ एसोसिएसनले छुट्टाछुट्टै अध्ययन गरेका थिए।

दुई संस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ। ‘मेलम्चीमा बाढीपहिरो निम्तिनुको एउटा मात्रै कारण जिम्मेवार हुन सक्दैन। यो प्रकोप हुनुमा धेरै कारक भएको देखिन्छ’, इसिमोडको प्रतिवेदनमा उल्लेख छ।

इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरूणभक्त श्रेष्ठ मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटामात्रै कारण नरहेको बताउँछन्। ‘मेलम्चीमा बाढीपहिरो आउनुमा एउटामात्रै कारण छैन,’ उनले भने, ‘धेरै कारण एकैपटक जुट्दा यस्तो खालको विपद् आएको हो।’ श्रेष्ठले सबै कारण एकैपटक जुट्दा यस्तो खालको विपद् निम्तिएको बताए। ‘यो एउटा कारणले मात्रै हो भनेर भन्न सकिँदैन।

हिमताल पनि फुटेको छ, पानी पनि परेको छ। भू–स्खलन पनि भएको छ, पहिरो पनि गएको छ,’ श्रेष्ठले भने, ‘यिनै कारणले यस्तो खालको क्षति हुन गएको हो।’ उनले थपे, ‘भ्रेमाथाङ भन्ने ठाउँमा धेरै पहिला खोला थुनिएर ग्रेगान थुप्रिएको थियो। बाढीले सो ठाउँको ग्रेगान फुटाएसँगै चाप बढेर तल्लो तटीय क्षेत्रमा धेरै क्षति पुर्‍याएको देखिन्छ।’ उनले मेलम्ची नदी ठाउँठाउँमा थुनिने र खुल्ने प्रक्रिया चल्दा पनि बस्तीमा धेरै क्षति पुगेको बताए।

मेलम्ची नदीमा बाढीपहिरो आउनुमा २०७२ सालको भूकम्पको पनि असर देखिएको छ। ‘भूकम्पले पनि मेलम्ची नदीको जलाधार क्षेत्रको धरातल कमजोर बनाएकै हो,’ उनले भने, ‘भूकम्पका बेला पनि त्यहाँ धेरै पहिरो गएका थिए। एउटा सानो हिमताल पनि फुटेको हो।

तर, त्यही हिमताल फुटेर यो सबै भएको भने होइन।’ इसिमोडले स्याटेलाइट तस्बिर र स्थलगत अध्ययनको आधारमा प्रतिवेदन तयार पारेको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्