Logo

शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने सम्भावना



काठमाडौं, साउन २० । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले भने आगामी शुक्रबारसम्ममा मन्त्रीमण्डल विस्तार हुनसक्ने बताएका छन्। उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल जारी रहेको जानकारी दिँदै भने –‘पार्टीभित्र मन्त्री छान्ने विषयमा गृहकार्य भइरहेको छ ।’नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनको साझा कार्यक्रम तयार गर्न समय लागेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताए।

उनले भने– ‘शुरूमा त माधवजीहरूलाई पनि कुरेको हो, अहिले माधवजीकै कारण मन्त्रीमण्डल विस्तार रोकिएको भने होइन, साझा कार्यक्रम सार्वजनिक भएपछि विस्तार होला कि?’ उनका अनुसार नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ ।

सत्तारूढ गठबन्धनले सरकाको न्यूनतम साझा कार्यक्रम तयार गरेर मन्त्रीमण्डल विस्तार गर्ने नीति लिए पनि साझा कार्यक्रम बनाउन गठित कार्यदलले अझै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशिस जारी राखेका छन् ।

मंगलबार पनि प्रचण्डले नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। नेता नेपालले प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल विस्तार गरेर अगाडि बढ्न सुझाव दिईसकेका छन् । तर, माओवादीका अध्यक्ष प्रचण्डले दैनिकरूपमा नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । उता नेपाल समूहका २२ जना सांसदले सरकारमा सहभागी हुन दबाब दिइरहेका छन् । मधुसूदन रायमाझीले आजको नेपाल समाचारपत्र दैनिकमा खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्