Logo

केपी ओलीविहीन एमाले बन्न सक्छ: एमाले नेता खतिवडा



काठमाडौं, साउन २० । नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अबको एमाले केपी ओलीविहीन हुन सक्ने बताएका छन् । नेता खतिवडाले अहिले पार्टीमा सम्मानजनक एकताका लागि वार्ता र छलफल चलिरहे पनि सही ढंगको शक्ति व्यवस्थापन पहिलो सर्त भएको स्पष्ट पारे ।

“आम कार्यकर्तालाई राजनीतिक संरक्षण गर्ने प्रत्याभूति नहुने खालको वार्ता सफल हुन्न, संविधान र संसद् समाप्त गर्नु गलत थियो र भविष्यमा पनि संसद् र सरकारको निरन्तरता कायम रहन्छ भन्ने ग्यारेन्टी नभएससम्म पनि वार्ता सफल हुन्न,”आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, “पार्टी संगठनलाई मजबुत गर्ने, प्रतिगामी र अनुशासनहीन गलत कार्य समाप्त गर्ने, दक्षिणपन्थी र विसर्जनवादी बाटोमा जान नदिने बाटोमा हामी छौं ।”

नेकपा एमालेको एकता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको प्राथमिकता भए पनि अब निसर्त पार्टी एकता हुनै नसक्ने खतिवडाले स्पष्ट पारे । “पार्टी एकता हुने स्थितिमा पनि सरकार र संसद्को स्थायित्वलाई स्थायित्व दिने कुरामा कुनै सम्झौता हुन्न । तर हामी केपी ओलीसँग वार्ताको बाटो बन्द भयो भनको स्थितिमा सरकारमा जान सक्छौं,” उनले भने, “अहिलेलाई पार्टी एकतामै हाम्रो जोड छ । त्यसो नभएको स्थितिमा एमाले केपी ओली विहीन पनि हुन सक्छ । अबको एमालेमा नियन्त्रण र सन्तुलन र संयन्त्रसहित एकता हुन सक्छ । हामी महाधिवेशन र आम निर्वाचनलाई केन्द्रित गरेर अघि बढ्छौं ।”

एक–दुई दिनभित्र एमालेको एकता हुने कि नहुने छिनोफानो हुने पनि उनले औंल्याए । “अहिले हामी सरकारमा जाने या नजाने, एकता हुने कि नहुने भन्ने क्रस रोडमा छौं,” उनले जोड दिए, “सम्मानजनक र सहअस्तित्वपूर्ण एकता अनि पार्टी सु्दृढीकरण हुने स्थिति भयो भने सरकारमा जान्नौं । तर सरकारको विरुद्धमा लाग्ने वातावरण पनि बनाउँदैनौं ।”

अहिलेसम्मको वार्तामा खासै उपलब्धि नभएको उनको जिकिर छ । “यो वार्ताकारको अनवरत प्रयासमा सीमित छ । वार्ताकारले वार्ता सफल बन्छ भन्ने विश्वास दिलाएकाले पर्खेर बसेका हौं.” उनले भने, “वार्ताको समय अब हप्ताबाट दिन हुँदै दिनबाट घन्टामा झरिसकेको छ ।” माधव नेपाल पक्षको केन्द्रीय समितिको भोलि हुने बैठकपछि आगामी कदमबारे निधो हुने पनि नेता खतिवडाले जानकारी दिए ।

माधव नेपाल पार्टीको स्थायी समितिमा अल्पमतमा नरहेको पनि उनले दाबी गरे । “मुख्य कुरा अल्पमत र बहुमत होइन । विचार असल भयो भने अल्पमत बहुमतमा बदलिन समय लाग्दैन,” उनले भने, “अहिलेसम्मको स्थितिमा माधवकुमार नेपाल पक्षको राजनीतिक एजेन्डा सफल छ । संसद् पुनस्थापना, संविधानको रक्षा, प्रतिगमनको प्रतिरोध जस्ता विषयमा विजय हासिल गरिरहेकै छौं ।” प्रतिगमन, संविधान र संघीयता समाप्त गर्ने प्रयास र धार्मिक द्वन्द्व रोक्न सक्नु नै अहिलेको सफलता भएको उनको जिकिर छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीका व्यवहार र शब्दप्रहारले सिंगो मुलुक प्रताडित भएको उनले बताए । “ओलीको गाली, अपमान, बदनामीबाट माधवकुमार नेपाल मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्र प्रताडित छ,” उनले भने, “ओलीले जसलाई अपमान गर्नुभएको छ, त्यति धेरै उहाँ पनि अपमानित भइरहनुभएको छ ।” सम्मानजनक एकता हुने स्थितिमा ओलीको स्वेच्छाचारी कदममा स्वतः अंकुश लाग्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्