Logo

टोपबहादुर रायमाझीको जिकिर : हामी कसरी घरको न घाटको भयौं ? (भिडिओसहित)



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमाले प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले आफूहरु अलपत्र नपरेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कसले भन्यो म पार्टीमा छैन भनेर ? म विल्कुल अलपत्र परेको छैन् । पहिला हामी माओवादी केन्द्रमा थियौं । माओवादी केन्द्र र एमालेबीच एकता गरेर नेकपा बनाईसकेपछि त्यो पार्टीमा ज्यादै नै अन्तरसंघर्ष भयो । अस्वस्थ प्रतिष्पर्धा भयो । र, अन्ततः नेकपा विभाजन भयो । हामी संस्थापन पक्ष र पार्टी एकताकै पक्षमा निरन्तरतामा रह्यौं । नेकपामै अघि बढ्यौं ।’

उनले केपी शमा ओली नै संस्थापन पक्ष भएकोले आफूहरु पनि संस्थापन पक्षमा लागेको जिकिर गरे । उनले भने,‘केपी शर्मा ओलीजी पार्टीको प्रथम अध्यक्ष, र उहाँ संसदीय दलको नेता पनि र प्रधानमन्त्री पनि हुनुहुन्थ्यो त्यतिवेला, त्यसकारण त्यो संस्थापन पक्ष थियो । बहुमत थियो । साथीहरु फुटेर जानुभयो । पछि फर्कनुभयो ।’ उनले अदालतले कुन पार्टी खोल्ने र कुन पार्टीमा जाने भनेर निर्देशन दिन नमिल्ने टिप्पणी गरे । उनले भने,‘माओवादी केन्द्र त प्रचण्डपनि छोड्नुभयो । हामीले पनि छोड्यौं । २ वर्षसम्म त उहाँ प्रचण्ड पनि ओलीजीकै नेतृत्वमा जानुभएको होईन ?’

पत्रकार धमलाले तपाईँ त प्रचण्डलाई नेता मानेर लामो समय हिँडेको व्यक्ति होईन ? अनि आज तपाईँको हबिगत के छ नेपाली राजनीतिमा भन्नुहोस त ? भनेर सोधेको प्रश्नमा रायमाझीले भने,‘हाम्रो के छ ? के हबिगत के हुन्छ ? मेरो राजनीतिक जीवन भनेको करिब करिब ४८÷४९ वर्ष भयो । त्यसमा करिब करिब ३५ देखि ३८ वर्षसम्म हामी कुनै सरकारमा थिएनौं ।’ पत्रकार धमलाले ‘नेपाली राजनीतिमा टोप बहादुर रायमाझी हैसियतविहीन हुनुभयो’ नि भनेर राखेको अर्को प्रश्नमा उनले भने,‘हैसियत के गरेर हुन्छ ? मन्त्री भएर हैसियत हुन्छ ? प्रधानमन्त्री भएपछि हैसियत हुन्छ ? मन्त्री हुनको लागि राजनीति गरेको हो र ? मैले मृत्यु र जीवनको वारपारको लडाई लडेको होईन ?’ उनले आफूहरु घरको न घाटको नभएको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्