Logo

बिना मगरलाई मन्त्री बनाउनु प्रचण्डको गल्ती थियो, नारायणकाजी र महराको पेवा हो र मन्त्री पद ? : गजेन्द्रबहादुर महत (भिडिओसहित)



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र बहादुर महतले पार्टीमा पूरानै अनुहार मन्त्री बन्न कम्मर कसेर लागेको गुनासो पोखेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हिजो पनि मन्त्री भएकै छन् ।

उनले भने,‘मन्त्री बनाउनको लागि पार्टी नेतृत्वले मापदण्ड बनाईरहेको छ । ७ वटा प्रदेश छन्, सबैबाट समेट्नुपर्यो । दलित, जनजाति, महिलालाई समेट्नुपर्यो । भागमा थोरै परेको छ । यो महशुस गरेका छौं । स्थायी कमिटीले मापदण्ड बनाउने हो । अहिले पार्टीमा के छ भने स्थायी कमिटीभन्दा बाहिर जानुभएन, र अर्को म भन्दा बाहिर पनि जानुभएन भन्ने देखियो । म भईनँ भएन मेरो गुटको र मेरो आशेपाशे हुनुपर्छ भन्ने चिन्तन भयो । मन्त्री पद त व्यक्तिको जस्तो भैसक्यो । यत्रो ठूलो लडाई लडेर आएका छौं । यत्रो ठूलो घाईते छन् । सहिद परिवार छन् । मन्त्री भनेको सबैको हो नि । अहिले त म बाहेक अर्कोले चलाउनै सक्दैन भन्ने देखियो ।’

अध्यक्ष पुष्पकमल दाहाललाई पनि मन्त्री कसलाई बनाउने भनेर परेको अवस्था चिर्न निकै गार्हो परेको सुनाए । उनले भने,‘पहिले पनि बुहारी मन्त्री बनेर आउनुभयो, त्यतिवेला उहाँ फस्नुभयो । त्यतिबेला त फेरि लेखराज भट्टले नै प्रस्ताव गरेका हुन् । त्यतिवेला उहाँले बुहारीलाई मन्त्री बनाउन चाहनुभएको थिएन । तर, अरु सबैले कसरी प्रस्ताव गरे भने प्रचण्डको नजिक हुनको लागि बुहारीलाई मन्त्री बनाउनुपर्छ भनेर प्रस्ताव गरे । अनि त्यहाँ फस्नुभयो उहाँ ।’ प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाउनु ठूलो गल्ती थियो भन्ने धारणा राखे ।

उनले नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा दुवैलाई सरकारमा नपठाउन पनि सक्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकार्षण गराएका छन् । उनले भने,‘उहाँहरु दुवै जनालाई अहिले नपठाउन पनि त सकिन्छ नि, के यो मन्त्री पद वा उपप्रधानमन्त्री पद उहाँहरुको पेवा हो र ? दाईजो हो र ? अर्को व्यक्ति पनि पठाउँदा हुन्छ नि । महरा पनि सभामुख भैसकेका हुन्, उहाँ प्रधानमन्त्रीको दाबेदार हो । नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री भैसक्नुभएको छ, उहाँ पनि प्रधानमन्त्रीको दाबेदार हो । फेरि चाहियो ? समस्या त यही हो नि । हामी केपी ओलीलाई गाली गर्छौं, तर यो टेण्डेन्सी त हामीमा पनि छ नि ।’



प्रतिक्रिया दिनुहोस्