Logo

केपी ओलीजस्तो राष्ट्रघाती मान्छे संसारमै छैन्, हामी संसदीय दलमा ६५ प्रतिशत पुर्याउँछौं : मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, २० साउन । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले घोषणा नगरेपनि पार्टी विभाजन भएको स्पष्ट पारेका छन् । उनले भने,‘केपी शर्मा ओलीले डिक्लेर नगरेपनि पार्टी त विभाजन भैसक्यो । केपी शर्मा ओली आँफैले एमाले विभाजन भएको संकेत दिईसक्नुभएको छ ।’ उनले वरिष्ठ नेता माधव कुमार नेपालले कुनैपनि हालतमा पार्टी विभाजन नगर्ने जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘हामीले यदि माधव कुमार नेपालले त्यो स्टेप नचालेको भए मुलुक एउटा अराजकताको दिशामा अगाडि बढिसक्थ्यो । मुलुकको सिस्टम नै कोल्याप्स हुनेगरि केपी ओलीले स्टेप चालेका थिए । संविधान मिच्नेगरि, कानून नमान्नेगरि स्टेप चालेका थिए । त्यसलाई ट्रयाकभित्र बसाल्ने काम माधव कुमार नेपालले गर्नुभएको छ ।’

कम्युनिष्ट आन्दोलनप्रति घात गर्ने व्यक्तिलाई मात्रै लालगद्दार भनिने पनि उनको भनाई छ । उनले भने,‘आज दुई तिहाईको कम्युनिष्ट पार्टीलाई यो टुहुरो अवस्थामा र सडकमा ल्याउने काम भनेको केपी ओलीले नै गरेको हो । त्यसैले केपी ओली लालगद्दार मात्रै होईनन्, महालालगद्दार हुन् । संविधान पनि पटक पटक मिच्ने काम गरे, केपी ओली संविधान विरोधी मान्छे हो ।’ उनले केपी ओलीको दिमागमा राम्रो र असल मान्छे, जनताले मन पराएका मान्छे उनको दिमागमा नहुने पनि टिप्पणी गरे । बरु, ओलीको दिमागमा त उनको वरिपरि हिँड्ने, गुण्डा, कमिशनखोर, चुरे बिक्रि गर्ने मान्छेहरुमात्रै रहेको पनि उनको आरोप छ । माधव नेपालमा असल संस्कार मात्रै रहेको चौधरीको भनाई छ । उनले भने,‘केपी ओली कसरी सर्वसक्तिशाल भए ? त्यही भएर अहिले केपी ओली बालकोटमा थन्किए ।’ उनले माधव नेपाल पार्टीमा सबै कमिटीमा बहुमतमा रहेको पनि दाबी गरे ।

ृउनले संसदीय दलमा आफ्नो समूहको ४० प्रतिशत पुग्नेपनि दाबी गरे । उनले भने,‘आवश्यक पर्यो भने संसदीय दलमा ४० प्रतिशत बनाउँछौं । ४० प्रतिशतमात्रै होईन ६५ प्रतिशत पुर्याउँछौं । हामीसँग अहिले ३८÷३९ जना सांसद हुनुहुन्छ । २२ जना सांसद त विश्वासको मत दिने हौं ।’ उनले आफूहरुले पार्टी नफुटाउने पनि दाबी गरे । उनले अध्यादेश ल्याएर आफूहरु पार्टी नफुटाउने पनि दाबी गरे । उनले केन्द्रीय कमिटी, संसदीय दल सबैमा आफ्नो समूहको बहुमत पुर्याउने पनि दाबी गरे । बरु, सुवास नेम्वाङ र ईश्वर पोखरेललाई दलको नेता बनाईने पनि उनको भनाई छ । उनले केपी ओलीलाई देखाएर नेपालको कम्युनिष्ट आन्दोलन जोगिने अवस्थामा नरहेको जिकिर गरे । उनले भने,‘केपी ओलीजस्तो राष्ट्रघाती मान्छे संसारमै छैन् ।’



प्रतिक्रिया दिनुहोस्