Logo

हामी २४ घण्टाभित्रमा सरकारमा जाने भन्नपनि सक्छौँ : जगन्नाथ खतिवडा (भिडिओसहित)



नेकपा (एमाले) का प्रभावशाली युवा नेता जगन्नाथ खतिवडाले आफूहरु अहिलेपनि पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले त्यसको लागि आफूहरुले अघि सारेका माग र शर्तलाई पूरा गर्नुपर्ने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओलीले यो संसद्को पूर्ण कार्यकालको ग्योरेन्टी गर्नुपर्ने र पार्टीमा माधव नेपाल समूहलाई सम्मानजनक स्थान दिने कुराको प्रतिबद्धता जनाउनुपर्ने भनाई राखेका छन् । प्रस्तुत छ नेता खतिवडासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब माधवकुमार नेपाल समूहका राजनीतिक यात्रा असफल भएकै हो त ?

असफताको कुरा के छ र ? राजनीतिक मुद्दामा माधवकुमार नेपाल र हामीले उठाएका आवाजले जितिरहेकै छ । संसद्को पूनःस्थापना प्रतिगमनको विरुद्धमा आम कार्यकर्ता तथा नागरिकलाई उतार्नु, संविधानको रक्षा गर्नु आदी यस्ता विषयमा स्टेप–स्टेपमा त हामीले विजय हाँसिल गरिरहेकै छौँ ।

तपाईँहरुले विजय हाँसिल त गर्नुभयो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभयो, तर अहिले तपाईँहरु न यताको न उताको हुनुभयो, केपी शर्मा ओलीले प्रष्ट रुपमा भन्नुभएको छ–‘माधवकुमार नेपाल गद्दार हुन ।’ अब तपाईँहरु के गर्नुहुन्छ ? आत्मसमर्पण गर्ने कि नयाँ दल गठन गर्ने ?

हाम्रो पहिलो कुरा यो विवादले पार्टीमा जनसुकै आन्तरिक विवाद भएको भएतापनि जब राष्ट्रिय समस्या अथवा प्रतिगमनका विरुद्धमा जब चर्चा हुन थाल्यो, हाम्रो मूल एजेण्डा के हो भने मुलुक प्रतिगमनको दिशातिर जान लागेको थियो त्यसलाई रोक्नु, संविधान समाप्त गर्ने दिशामा जान लागेको थियो त्यसलाई रोक्नु, संविधान सक्काउने र देशलाई धार्मिक दिशामा लान लागेको थियो त्यसलाई रोक्नु यो रोक्ने काममा हामीले सफलता प्राप्त गर्यौं । अब मुलुक यतिखेर सामान्यतया पात्रहरुको हिसाबले हेर्दा, पात्रहरुले नेतृत्व गरेको हिसाबले हेर्दा प्रतिगमनको दिशामा जान सक्दैन् । यस्तो बेलामा अब हामीले पार्टी मजबुद बनाउन र पार्टीभित्र भैरहेको प्रतिगामी काम, पार्टीभित्र भैरहेको अनुशासनहीन पार्टीका विधिलाई समाप्त गर्ने कार्य र पार्टीलाई विसर्जनवादी दिशामा हिँडाउनका लागि भैरहेका प्रतिगामी कार्यकाविरुद्ध संघर्ष गर्नु अहिले हाम्रो पहिलो काम बन्न पुगेको छ । यही क्रममा आजपनि एकताको विषयमा वार्ता चलिरहेको बेला हामी प्रष्ट दुई/तीन ओटा कुरामा छौँ । आम कार्यकर्तालाई संरक्षण गर्ने प्रत्याभुति भएको राजनीति सुरक्षा गर्न प्रत्याभुति नभएको वार्ता सफल हुँदैन् । संसद् विघटन गरियो, प्रतिगामी कार्य गरियो । त्यो कुराको विरोध गर्ने अथवा त्यो गलत थियो भन्ने र भविष्यमा यस्ता कुरा नगर्ने भन्ने कुराको प्रतिवद्धता नगरिकन एकताको वार्ता सफल हुँदैन् । र, पार्टीभित्र माधवकुमार नेपाल र केपी ओलीको बीचमा सही ढंगको शक्ति व्यवस्थापन नगरिकन पनि पार्टी एकताको वार्ता सफल हुँदैन् ।

तपाईँहरुले धेरै वार्ता गर्नुभयो तर अहिलेसम्म परीणाम दिन सक्नुभएन नि ? अब केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा उहाँसरहको ठाउँ दिनसक्ने सम्भावना छ ?

माधवकुमार नेपाललााईँ हेर्दा तीन ओटा ठाउँबाट हेरौँ, पहिलो कुरा केपी ओलीले गरेको गाली बदनामी, बेईज्जती, अशिष्टताबाट हेरियो भने माधवकुमार नेपालमात्र पीडित होईन, सिंगो मुलुकनै पीडित छ यसबाट । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पीडा भोगिरहेका छन् मान्छेहरु । जति धेरै उहाँले अर्कालाई अपमान गरिरहनुभएको छ, त्यति धेरै उहाँ अरुबाट अपमानित भैईरहनुभएको छ । यसकारण व्यक्तिगत रुपमा माधव कमरेडलाई चित्त धेरै दुखिराखेको छ । उहाँभन्दा बढि हामी सबैलाई चित्त दुःखेको छ । तर, यो कुरा भन्दा मुख्य कुरा उहाँलाई स्वेच्छाचारी ढंगले हिँड्ने कुरामा पार्टीभित्र पनि अंकुश लगाउनु महत्वपुर्ण कुरा हो । त्यो अंकुश लागेका दिन उहाँका यी शब्दहरु आँफै नियन्त्रित हुन थाल्छन् भन्ने हाम्रो बुझाई छ ।

माधवकुमार नेपाल तपाईँकै समूहमा अल्पमतमा पर्नुभएको छ, यो अवस्थामा माधवकुमार नेपालले केपी ओली रोज्ने कि शेरबहादुर देउवा अथवा प्रचण्ड ? बताउनुहोस् ?

माधवकुमार नेपालले अबको पहिलो शर्त नेकपा (एमाले) केपी शर्मा ओलीविहिन नेकपा एमाले पनि चल्नसक्छ । जसरी उहाँले माधवकुमार नेपालविहीन भन्नुभएको छ नि, एउटा यता अनुशासन नेताको त परिकल्पना नगरौँ । केपी शर्माविहिन पार्टी हुनसक्छ । केपी शर्मा ओलीविहीन सम्झौता हुनसक्छ । यसकारण पहिलो प्राथमिकता पार्टी भएको हुनाले सरकार हाम्रो लागि अलिकता गौण भएको छ । सरकारको स्थायित्वको निम्ति र संसद् रहनको लागि हामी सहयोग गछौँ । सरकारमा जानैपर्छ भन्ने मानसिकताबाट हामी ग्रसित हुँदैनौँ । तर, केपी कमरेडसंग वा त्यो एउटा पक्षसंग भेट्नै नहुने सम्भावना भयो, अब बाटो बन्द भयो भने अब हामी हाम्रो राजनीतिक बाटो तय गर्ने क्रममा सरकारमा पनि जाउँला अथवा विभिन्न बाटोहरु तय गरौँला । विभिन्न गतिविधिहरुमा लागौँला ।

उसो भए अहिले तपाईँहरुको प्राथमिकता सरकार होईन त ?

हाम्रो पार्टीभित्रको विद्रोही पक्षको सरकार बन्नुपर्यो अब ।

तपाईँकै पार्टीका सांसद्हरु त हामी सरकारमा जान्छौं भनेका छन्, उहाँहरुलाई अब के गर्नुहुन्छ ?

जाने उहाँहरुको सल्लाह/सुझाव शुभकामना केही छ भने त्यो मान्छेले राख्न पाउँछ । यसमा कुनै शंका छैन । मैले अघि बाटो खुल्ला छ भनिसकें । पार्टी एकता हाम्रो आधारभुत कुरा हो । त्यसमा हामी प्राथमिकता दिन्छौँ । एकताबद्ध भएर पार्टीमा अगाडि बढ्ने वातावरण भएमा सरकारमा जाने कुरा गौण हुन्छ । तर, सरकारलाई निरन्तरता दिने, संसद्लाई निरन्तरता दिने कुरामा कहिल्यैपनि प्राथमिकता घट्दैन । यो उही महत्वमा रहन्छ । हाम्रो सम्झौता भयो भने पनि संसद् र सरकारको निरन्तरता दिने कुरामा चाहीँ सम्झौता हुँदैन् । यता मन्त्री बन्ने/नबन्ने कुरा चाहीँ पार्टीभित्र हाम्रो आन्तरिक सम्बन्ध कहाँ पुग्छ ? त्यसले निर्धारण गर्छ । हामी २४ घण्टाभित्रमा सरकारमा जाने भन्न पनि सक्छौँ । हामी २४ घण्टाभित्रमा सरकारमा पनि जादैनौँ भनेर फाईनल निर्णय गर्ने ठाउँमा पनि पुग्न सक्छौँ । किनकी हामी त्यस्तो अवस्थामा छौं ।

त्यसोभए अबको २४ घण्टाभित्र तपाईँहरुले एउटा निर्णय गर्नुहुन्छ ?

मेरो विचारमा २४ भन्दा ३६ होला ४८ होला तर यो एक/दुई दिनभित्र यो कुरा निर्धारण हुन्छन ।

त्यसो भए अबको दुई दिनभित्रै तपाईँहरु सरकारमा जाने कि एमालेमा रहने भन्ने कुरा अब निर्णय हुन्छ ?

एमालेभित्र सम्मानजनक र सह–अस्तित्वपूर्ण एकता भयो, अथवा पार्टीलाई सही तरिकाले चलाउने दिशातिर गयो भने हामी सरकारमा जाँदैनौ । पार्टी बलियो बनाउन लाग्छौ । संसद्लाई स्थायित्व बनाउन लाग्छौँ । पूर्ण संसद्लाई अगाडि बढाउनको निम्ति यसमा कुनै शंका छैन । पूर्ण समय दिनको लागि लाग्छौँ । यसका विरुद्धमा लाग्दैनौँ र यसका विरुद्धमा लाग्ने वातावरण बनाउदैनौँ । त्यो पार्टीमा एकता गरियो भने एकता भयो भने । तर, यदि एकता भएन भने हामीले आफ्नो बाटो हिड्नुपर्ने हुन्छ । यो पनि हामीहरुले नै समर्थन गरेर बनाएकै सरकार हो, हामी सरकारमा जान्छौँ । आफ्ना अरु नयाँ के गर्नुपर्छ त्यो बाटो तयार गछौँ ।

त्यसो भए तपाईँहरु केपी ओलीसंग एकता नभएमा मात्र अगाडि बढ्ने कुरामा सहमत हुनुहुन्छ ?

हो । हामीलाई यतिखेर पार्टी बलियो बनाउनुछ । पार्टी बलियो नभईकन नागरिक जनता बलियो हुँदैनन् । हामी आँफै बलियो हुदैनौँ । किनकी पार्टी धेरै दुःखले बनाएको पार्टी हो । यसलाई जोगाउनुनै छ । तर, यसलाई जोगाउने क्रममा आजसम्म कमरेड केपी ओलीका व्यवहार र शब्द प्रहार यी दुईवटै बाधक बनेका छन । व्यवहारमा सुधार्नकोको लागि पनि उहाँका पक्षबाट उहाँलाई ठुलो दबाब छ । सम्भव भएसम्म पार्टी एकतालाई बचाउ भनेर झिनो आजले हामीहरु यही प्रयासमा छौँ ।

तर, अहिलेसम्म कहाँ पुग्यो त तपाईँको एकता प्रयास् ?

अहिलेसम्म वार्ताकारहरुको अनवरत प्रयाससम्म मात्र सिमित छ । अघोषित भन्ने कि विघटित भन्ने कि यो सिमित रहेको वार्ता आज, भोलि वा पर्सी एक÷दुई दिनभित्रमा यो चाहीँ सफल बन्छ भन्ने उहाँहरुले हामीलाई विश्वास दिलाउनुभएको छ । उहाँहरुले आफ्नो पार्टीको नेताहरुलाई विश्वास दिलाएसम्म हामीले पर्खेर बसेको हो । विश्वास दिलाउने समय दिन, बार र घण्टामा झरेको छ भन्नुहोस् न । जे होस् अत्यन्तै छिटो यो कुराको छिनोफानो हुन्छ ।

तपाईँहरुको पक्षको केन्द्रीय कमिटी सदस्यहरुको बैठकको निर्णय के त ?

अब बैठक भोलि हुन्छ । हाम्रो आज साथीहरु सबै आउन सक्नुभएन । टाढा टाढाको साथीहरु आज आउन सक्नुभएन । त्यसकारण बैठक भोलि हुन्छ । एक÷दुई दिन लाग्नपनि सक्छ । मुख्य कुरा आजको आन्तरिक संकटको परिस्थितिमा लिनुपर्ने नीति के हो भनेर केन्द्रीय कमिटीको सदस्यहरुसंग परामर्श गर्ने नै यो बैठकको मुख्य प्रयोजन हो ।

भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताले रघुजी पन्तले पनि भन्नुभएको छ–‘अब एमालेलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्छ, शेरबहादु देउवासंग अगाडि जान सकिँदैन भनेर ?’ यहाँको प्रतिक्रिया के छ ?

एकताबद्ध बन्ने कुरामा त कुनै शंकै छैन । निशर्त एकताबद्ध त हुदँैन नि । अब नेकपा एमालेमा शर्तसहित नियन्त्रण र सन्तुलनको सिद्धान्तसहित पार्टीको आदर्शलाई रक्षा गर्ने प्रतिबद्धता र त्यसका लागि संयन्त्रसहित हाम्रो एकता हुन्छ ।

एकताको लागि तपाईंहरुको अरु शर्त के–के छन त ?

धेरैपटक भनिसकें संसद् विघटन गरेको कुरा गलत थियो । भविष्यमा पनि संसद्लाई पूर्ण कार्यकाल चल्न दिईन्छ भन्ने प्रतिवद्धता नभईकन यो एकता हुँदैन । अब हामीले जाने बाटो अथवा दिशा महाअधिवेशन र आम निर्वाचन हो । यो विचार प्रष्ट नगरिकन पनि एकता सम्भव छैन । स्थायी कमिटीमा माधव नेपाल अल्पमतमा पर्नुभयो भनेर जे कुरा भन्नुभएको छ । पहिलो कुरा त स्थायी कमिटीका सबैले सम्मानजनक एकता हामीले गर्ने, सम्मानजनक एकता भएन भने माधव नेपाललाई हामीले साथ दिने भनेर अस्तिनै निर्णय गर्नुभएको छ । एकताको लागि ठुलो प्रयत्न गर्ने, तर त्यो सम्मानजनक भएन भनेपछि माधव नेपालको नेतृत्वलाई हामीले स्वीकार गरेर अगाडि बढ्ने भनेर भनिसकेको हुनाले अब यो अल्पमत÷बहुमतको कुरा बाँकी छैन । यो विचारको लडाई हो । यो विचारको लडाईमा को मान्छे आउँछ र को आउँदैन बहुत महत्व हुन्छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्