Logo

टोकियो ओलम्पिकमा १२औं दिन के के भयो



एजेन्सी, २० साउन । टोकियो ओलम्पिकको १२औं दिन १७ स्वर्ण पदकको छिनोफानो भएको छ । आज एथलेटिक्स, कुस्ती, भारत्तोलन, बक्सिङ, साइक्लिङलगायतका खेलहरुमा स्वर्णको छिनोफानो भएको हो ।

पुरुष २०० मिटर दौडमा क्यानडाका डि ग्रासेले स्वर्ण जितेका छन् । महिला ८०० मिटर दौडमा केन्याकी कोरिलले स्वर्ण जितिन् ।

४०० मिटर बाधा दौडमा अमेरिकाका सिड्नी मेगलिनले विश्व किर्तिमान कायम गर्दै स्वर्ण जितेकी छिन् । रजत पनि अमेरिकाका डालिला मुहम्मदले जितिन् । यसअघिको विश्व किर्तिमानभन्दा कम समयमा तीनैजना पदक विजेताले दौड पूरा गरेका थिए ।

पुरुष १०९ केजीभन्दा माथिको तौल समूहको भारत्तोलनमा जर्जियाका लासा टालाकाजेले स्वर्ण जिते । जापानकी कावाइ युकाकुले ६२ केजी तौल समूहमा महिला भारत्तोलनको स्वर्ण जितिन् ।

पुरुष ह्यामर थ्रोको स्वर्ण पोल्यान्डका नोविकीले स्वर्ण जिते । युक्रेनका बेलेनुकले कुस्तीको ८७ केजी तौल समूहमा स्वर्ण जिते ।

रुसकी रोमासिनाले कलात्मक पौडीतर्फ छैठौं स्वर्ण जितेकी छिन् । इरानका गारेईले ६७ केजी तौल समूहको कुस्तीमा स्वर्ण जिते ।

३००० मिटरको स्टिपलचेसमा युगान्डाकी चेटुमाईले स्वर्ण जितिन् । साइक्लिङको टिम इभेन्टमा इटालीले विश्वकिर्तिमान कायम गर्दै स्वर्ण जितेको छ ।

१२औं दिनसम्म चीनले पदक तालिकामा अग्रता कायम राखेको छ । ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २५ स्वर्णका साथ दोस्रो र जापान २१ स्वर्णका साथ तेस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्