Logo

‘केपी ओली अब बयलगाढा चिन्ह लिएर चुनाव लड्छन्’ : मेटमणि चौधरी



काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ । बैठकका लागि नेताहरु बुद्धनगरस्थित् क्वालिटी पार्टी प्यालेसमा पुगिसकेका छन् । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् ।

आज नेपाल पक्षले पार्टीमा वारपार गर्ने तयारी गरेको छ । पार्टी एकताको लागि दोस्रो पक्षका नेताहरुले नेता नेपाललाई दबाब दिएका छन् । तर, नेपाल भने अहिलेको अवस्थामा यतिकै अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्न हुन्न भन्ने पक्षमा छन् । नेता नेपाललाई तेस्रो र चौथो पुस्ताले साथ दिएका छन् । आवश्यक परे नयाँ पार्टी गठन गरेर भएपछि अघि बढ्नुपर्ने उनीहरुको आवाज छ ।

अहिले केन्द्रीय कमिटी बैठकका लागि नेताहरु पार्टी प्यालेसमा पुगिसकेका छन् । नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु एमालेमै रहेर संघर्ष गर्ने जनाए । आउने निर्वाचनमा अध्यक्ष ओलीले बयलगाढा चिन्ह लिएर चुनाव लड्ने पनि चौधरीको टिप्पणी थियो ।

उनले आजको बैठकमा एमालेलाई कसरी व्यवस्थित् बनाउने भन्ने विषयमा सरसल्लाह र छलफल हुने जनाए । उनले भने,‘यसको लागि सुरुमा कमरेड माधव कुमार नेपालले आफ्ना कुरा राख्नुहुन्छ । त्यसपछि कार्यदलबाट एक जना सदस्यले अहिलेसम्म भए गरेका प्रगतिको विषयमा कुरा आउँछ, र त्यसपछि केन्द्रीय कमिटीका सदस्यहरुले आफ्ना विचारहरु राख्नुहुन्छ । अब के गर्ने ? र कुन बाटोबाट जाने भन्ने धारणा राख्छौं । आज हामी एउटा निश्कर्षमा पुग्छौं । सम्भवतः केपी ओलीले डिक्लियर नगरेपनि अब नेकपा एमालेलाई मिल्न नदिने पोसिजनमा, त्यो पक्षमा र मनोविज्ञानमा उहाँ पुगिसक्नुभएको छ । र, उहाँले डिक्लियर नगर्दासम्म हामीले पनि अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने लागेको छैन् । जब उहाँले डिक्लियर गर्नुहुन्छ, त्यसबेला हामीले जे जे कानूनी प्रावधानलाई मध्येनजर गरेर अर्को पार्टी निर्माण गर्नुपर्छ भन्ने ठाउँमा पनि पुग्नुपर्छ । र, पुग्छौं । अर्को पार्टी नबनाउँदासम्म हामीले एमालेमै रहेर आफ्ना क्रियाकलापहरु अघि बढाउँछौं ।’

उनले अध्यक्ष ओलीले एमालेलाई एक हुन नदिनको लागि दुई/तीन वर्ष अघि देखि नै लागिपरेको र आफूहरुले त्यो कुरा बुझेको पनि स्मरण गराए । उनले ओलीलाई फेरि पनि अध्यक्ष बनाउने कुरा सम्भव नभएको टिप्पणी गरे । उनले भने,‘केपी ओली अब बयलगाढा चुनाव चिन्ह लिएर अघि बढ्छन् । र, त्यो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (केपी ओली) राख्छन् । त्यो तरिकाले अगाडि बढ्छन् ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्