Logo

माधव नेपालले पार्टी फुटाउन खोजे एमालेका यी हस्तीले साथ नदिने



काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हस्तीहरुले उनले पार्टी फुटाउन खोजे साथ नदिने भएका छन् । नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य कुनै हालतमा पार्टी फुटाउन नहुने पक्षमा उभिएका छन् ।

आज नेपाल पक्षले डाकेको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भए । नेपालले पार्टी फुटाउने तयारी गरेको संकेतका रुपमा आजको बैठकलाई लिइएको छ । यसकारण पनि पाण्डे र भट्टराई अनुपस्थित भएको बुझिएको छ ।

माधव नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरु भने ओलीसँग मिल्न सक्ने अवस्था नरहेकाले नयाँ ढंगले बढ्नुपर्ने पक्षमा छन् । उनीहरु विभाजनको पक्षमा उभिएको बुझिएको छ । तर, उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमालेभित्रै संघर्ष गरेर जानुपर्ने पक्षमा छन् ।

पार्टी विभाजन कुनै हालतमा स्वीकार्य नहुने सुरेन्द्र पाण्डे, योगेश भट्टराई र भीम आचार्यले माधव नेपाललाई भेटेरै भनिसकेका छन् । उपाध्यक्ष रावलले पनि पार्टी फुटाउन माधव नेपाललाई साथ दिन सकिने जवाफ दिइसकेका छन् ।

एमाले विभाजनका लागि तयारी अवस्थामा रहेका माधव नेपाल भने ब्याक हुने सम्भावना फितलो भइसकेको छ । उनले एकताका लागि एकपटक अन्तिम प्रयास गर्ने बुझिएको छ । त्यसमा पनि ओली लचिलो नभए विभाजनका लागि वाध्य हुने निकटस्थलाई सुनाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्