Logo

के यी सांसद अपहरण र बन्धक बनाइएका थिए ?



काठमाडौं, २१ साउन । देशको संसदीय इतिहासमा केन्द्र र प्रदेश गरी दुई तहको संसदको अभ्यास भइरहेको छ । तीन तहको सरकारमा केन्द्र र संघ गरी दुई तहमा संसद रहेको नेपालका लागि नयाँ अभ्यास हो । तर, संघ र प्रदेशका संसदहरुमा नाटकीय घटनाहरु घट्न थालेका छन् ।

सांसद किनबेच देखि अपहरण र बन्धकसम्मका नाटकीय घटनाहरु धमाधम देखिएका छन् । जनप्रतिनिधि भएकाहरु आफू अपहरणमा परेको र बन्धक बनाइएको दाबी गर्न थालेका छन् । एक दिन एकातर्फ लागेकाहरु अर्को दिन अर्कोतर्फ लागेर गम्भीर आरोपहरु लगाउन थालेका छन् ।

दाङकी प्रदेश सभा सांसद बिमला वली खत्रीले ३ दिनका बीच दुईवटा विज्ञप्ति जारी गरेकी छिन् । १८ साउनमा एमालेमा रहेको भन्दै विज्ञप्ति जारी गरेकी उनी २१ साउनमा माओवादी केन्द्रमा रहेको भनी विज्ञप्ति जारी गर्न पुगिन् । बन्धक बनाएर जर्बजस्ती विज्ञप्ती बनाएर हस्ताक्षर गर्न लगाएको बिमलाको दाबी छ ।

तुल्सीपुरस्थित घरमै एमाले संसदीय दलका नेता भूमिश्वर ढकाल पुगेर आफूलाई बुटवल पुर्याई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको र आफू २० साउनमा फुत्कन सफल भएको बिमलाको दाबी छ । तर, भूमिश्वरले बिमला आफ्नै इच्छाले परिवारका सदस्यको साथमा बुटवल पुगेर मुख्यमन्त्रीकै निवासमा बसेको जवाफ दिएका छन् । तर, यो घटनामा बिमलालाई मन्त्री बनाउने आश्वासन भने दिएको खुलेको छ । स्वयं बिमलाले पनि मन्त्रीको लोभ देखाइएको भनेकी छिन् । भूमिश्वरले पनि त्यस्तै संकेत गरेका छन् ।

गत वर्ष तत्कालीन समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादव अपहरणमा परेको घटनाले तरंग नै आयो । घटनामा नेकपा एमालेका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठका अलावा पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि मुछिए । उनीहरु महोत्तरी पुगेर निवासबाट यादवलाई लिएर काठमाडौं आएका थिए । लकडाउनका बेलामा यादवलाई स्वास्थ्यमन्त्री बनाउने भन्दै उनीहरुले काठमाडौंको मेरियट होटलमा राखे । समाजवादी पार्टी फुटाउने योजना अनुसार ल्याइएका यादव विहानै होटलबाट फुत्किएर अपहरणमा परेको दाबी गर्न थाले । उनले प्रहरीमा उजूरी समेत दिए ।

यादव महोत्तरीबाट आउँदा समाजवादी पार्टीकै अर्का सांसद उमाशंकर अरगरिया पनि थिए । तर, अरगरियामाथि अपहरणको कुनै उजुरी परेन । उनी केही समय ओली सरकारमा मन्त्री समेत भए । सुरेन्द्र यादवलाई समाजवादी पार्टी फुटाउने उद्देश्यले महेश बस्नेतसहितको टोलीले ल्याएपनि उनीहरु उल्टै एम्बुसमा पारिएका थिए । सुरेन्द्रको यो योगदानका कारण उनी वर्तमान सरकारमा मन्त्री बनाइने निश्चितप्रायः भएको छ । रोचक पक्ष यो छ कि माधव नेपाल पक्ष सरकारमा गएमा अपहरणका अर्का आरोपी किसान श्रेष्ठ पनि मन्त्री बनाइने सम्भावना छ ।

गण्डकी प्रदेशमा पनि अपहरण र बन्दक बनाउने नाटकीय घटना घट्यो । पृथ्वी सुब्बा गुरुङ्गले मुख्यमन्त्री पद जोगाउन जनमोर्चाका सांसदहरुको साथ लिन अनेक रणनीति चाले । जनमोर्चाका ३ सांसदमध्ये खिमक्रिम शाही वेपत्ता भए । उनी कोरोना भाइरसको संक्रमितलाई राख्ने आइसियू वार्डमा भेटिएका थिए । अविश्वासको प्रस्ताव दर्ता भई गुरुङ्गविरुद्ध मतदान गर्ने निर्णय लिएको जनमोर्चा सांसद हराएपछि खोजबिनमा लागेको थियो । तर, शाही कोभिड आइसियू वार्डमा भेटिएका थिए । उनलाई सत्ताको खेलमा आइसियू वार्डसम्म पुर्याइएको खुलेको थियो । यसमा शाही आफै प्रभावित भएका थिए । पछि उनी पार्टी निर्णय मान्न तयार भए । तर, अर्का सांसद कृष्ण थापा भने गुरुङ्गको पक्षमा उभिंदा पार्टी ह्वीप उल्लंघन गरेको भन्दै निष्काशनमा परेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आव्हान गर्दा एमाले सांसद महेश बस्नेत सक्रिय भए । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहका सांसदहरुलाई डोलेश्वरस्थित रिसोर्टमा राखेर गठबन्धनलाई बहुमत दाबी गर्नबाट रोक्न भूमिका खेलेका थिए । सांसदहरु रिसोर्टमा राख्ने शैली गठबन्धनले समेत गरे । जसपाको उपेन्द्र यादव पक्षधरले गोदावरीमा सांसद लगेर राख्यो ।

विगतमा पनि संसदीय इतिहासमा सांसद किनबेच र होटलमा राख्ने गतिविधि भएका थिए । सत्ताको खेलमा सांसदहरुलाई थाइल्यान्डको राजधानी बैंककसम्म लगेर राख्ने गतिविधि भएका थिए । तर, पछिल्लो समय संसदीय राजनीतिमा अपहरण, बन्धक देखि अस्पतालमा नाटकीय शैलीमा बस्ने घटनाहरु देखिएका छन् । मूल्य र मान्यताको राजनीतिको उपहास गर्ने गरी सांसदको किनबेचका घटनाहरु हुन थालेका छन् । संसदीय इतिहासमा यस्ता नाटकीय घटनाहरु अझै घट्ने सम्भावना देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्