Logo

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सम्पन्न, एकताको लागि प्रयासरत रहेको माधव नेपालको भनाई (भिडिओसहित)



काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न भएको छ । बुद्धनगरस्थित् क्वालिटी ब्यांकेटमा बसेको बैठकमा माधव नेपालसहित आज २२ जना केन्द्रीय सदस्यहरुले बोलेका थिए ।

बैठकपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता रघुजी पन्तले आजको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका कामहरुको र भैरहेको कुराहरुको बारेमा समिक्षा भएको सुनाए । उनले भने,‘आजको बैठकमा माधव नेपालको अध्यक्षतामा बैठक सुरु भयो । उहाँले सुरुमा कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्छ र यसमा सरकारको ध्यान जानुपर्छ भन्नुभयो । बाढि÷पहिरो प्रभावित परिवारलाई उचित क्षतिपूर्ति दिईयोस भन्नुभयो । नेपाल सरकारले त्यसतर्फ पाईला चालोस भन्नुभयो ।’

उनले एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको कुरा पनि उल्लेख गरे । उनले भने,‘केही सहमति भएका छन् र केही बाँकी छन् । यो विषयमा हामी स्थायी कमिटीमा निरन्तर छलफल गरिरहेका छौं । एकता हाम्रो ईच्छा हो । चाहना हो । हामी एकता र सहमतिको लागि वार्तामा सामेल छौं, र एकताको लागि प्रयासरत छौं भन्नुभयो ।’
आजको बैठकमा डा. विजय पौडेल, दिनेश राई, झपट रावल, बलराम बाँस्कोटा, सावित्रा भुषाल, अरुण नेपाल, ठाकुर गैरे, नागेन्द्र चौधरी, भानुभक्त जोशीलगायतले बोलेका थिए । केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम जारी रहेको उनले सुनाए ।

त्यस्तै, आजको बैठकमा यसअघि पार्टी एकताको लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदनबारे पनि चर्चा भएको उनको भनाई छ । र, आजको बैठकमा तत्कालिन कार्यदलमा माधव नेपाल तर्फका संयोजक रहेका भीम रावलले दश बुँदे सहमति कसरी भयो भन्नेबारेमा विस्तृत रुपमा जानकारी गराएको पनि पन्तले जानकारी गराए ।

PHOTO BY: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्