Logo

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको अधिकार खोस्ने र अंकुश लगाउने कुरा उठ्यो



काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा एमालेमै रहेर संघर्ष गर्ने र पार्टी एकताको लागि पहल गर्ने आवाज उठेको छ । आज बसेको नेपाल पक्षको बैठकमा सुरुमा वरिष्ठ नेता माधव नेपालले बोलेको सोमप्रसाद पाण्डेले जानकारी दिए । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘माधव कमरेड सुरुमै बोल्नुभयो । उहाँले पार्टी एकताको लागि अधिकतम लचक छौं भन्नुभयो । तर, पार्टी एकता भनेर आत्मसर्मण भने नगर्ने कुरा गर्नुभयो । बरु सम्मानका साथ एकता गर्ने राय व्यक्त गर्नुभयो ।’

अध्यक्ष भएको नाताले पार्टी एकताको लागि केपी शर्मा ओली नै बढि जिम्मेवार भएको भन्ने कुरा आजको बैठकमा उठेको पाण्डेले जानकारी दिए । उनले भने,‘आज बोल्ने सबै साथीहरुले एकता जोगाउनुपर्छ र यसको लागि हदैसम्मको प्रयत्न गर्नुपर्छ भन्ने कुरा राख्नुभयो ।’

पाण्डेले सम्मानजनक एकताको पक्षमा आवाज उठेको जनाए । त्यस्तै, शक्ति बाँडफाँडमा एकरुपता हुनुपर्ने र सम्झौता गरेर एकता गर्नुपर्छ भन्ने नभएको आवाज उठेको पनि उनको भनाई छ । त्यस्तै, आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले अध्यक्ष ओलीलाई अंकुश लगाउने र अहिले भएको अधिकार खोस्ने कुरा पनि उठेको छ । माधव नेपाललाई ओलीसरहको समान अधिकारसहित अध्यक्ष बनाउनुपर्छ भन्नेपनि कुरा उठेको छ ।

उता, बैठकपछि मिडियाकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता रघुजी पन्तले आजको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका कामहरुको र भैरहेको कुराहरुको बारेमा समिक्षा भएको सुनाए । उनले भने,‘आजको बैठकमा माधव नेपालको अध्यक्षतामा बैठक सुरु भयो । उहाँले सुरुमा कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्छ र यसमा सरकारको ध्यान जानुपर्छ भन्नुभयो । बाढि÷पहिरो प्रभावित परिवारलाई उचित क्षतिपूर्ति दिईयोस भन्नुभयो । नेपाल सरकारले त्यसतर्फ पाईला चालोस भन्नुभयो ।’

उनले एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको कुरा पनि उल्लेख गरे । उनले भने,‘केही सहमति भएका छन् र केही बाँकी छन् । यो विषयमा हामी स्थायी कमिटीमा निरन्तर छलफल गरिरहेका छौं । एकता हाम्रो ईच्छा हो । चाहना हो । हामी एकता र सहमतिको लागि वार्तामा सामेल छौं, र एकताको लागि प्रयासरत छौं भन्नुभयो ।’

आजको बैठकमा डा. विजय पौडेल, दिनेश राई, झपट रावल, बलराम बाँस्कोटा, सावित्रा भुषाल, अरुण नेपाल, ठाकुर गैरे, नागेन्द्र चौधरी, भानुभक्त जोशीलगायतले बोलेका थिए । केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम जारी रहेको उनले सुनाए ।

त्यस्तै, आजको बैठकमा यसअघि पार्टी एकताको लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदनबारे पनि चर्चा भएको उनको भनाई छ ।  र, आजको बैठकमा तत्कालिन कार्यदलमा माधव नेपाल तर्फका संयोजक रहेका भीम रावलले दश बुँदे सहमति कसरी भयो भन्नेबारेमा विस्तृत रुपमा जानकारी गराएको पनि पन्तले जानकारी गराए । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्