Logo

केपी ओली जाली तमसुक लेख्ने जिम्दार क्यारेक्टरको मान्छे, उहाँभित्र रहेको घमण्ड अझै गएको छैन् : विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, २१ साउन । नेकपा (एमाले) का नेता तथा सांसद विरोध खतिवडाले अध्यक्ष केपी शर्मा ओलीको अहिलेसम्मको गतिविधिले पार्टी एकता हुने सम्भावना कम भएको टिप्पणी गरेका छन् । यसअघि विघटित कार्यदलमा रहेका अध्यक्ष ओली तर्फका दुई जना सदस्यहरु र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर दुई जना सदस्यले पार्टी एकताको लागि अध्यक्ष ओली तयार रहेको सन्देश लिएर माधव नेपालकहाँ पुगेको पनि दाबी गरे ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । खतिवडाले ओलीले यसअघि भनेको कुरा नमानेको पनि स्मरण गराए । अध्यक्ष ओली जालीझेली, षड्यन्त्रकारी भएको उनको आरोप छ ।

उनले भने,”केपी ओली एउटा गाउँको जाली तमसुक लेख्ने जिम्दार भनौं अथवा के भनौं, त्यो क्यारेक्टरको मान्छे भएको हुनाले केपीबाट सम्भव छैन भनेर एकथरीले भने, केपी कम्युनिष्ट पार्टीलाई ध्वस्त पार्ने जिम्मा लिएको व्यक्ति हो, उबाट अब आश गर्ने ठाउँ छैन् । उनका हरेक घट्नाले देखाईसकेको छ भन्ने कुरा पनि आयो । त्यहाँ विभिन्न कोणबाट कुरा आए । हामी छलफलमै छौं । भोलिपनि बैठक छ । हामी यो बैठकबाट एउटा निश्कर्ष निकाल्छौं ।”

नेता खतिवडाले अध्यक्ष ओलीले माधव नेपाललाई लालगद्दार र देशद्रोही भनेको कुराले ओलीको लोकप्रियता बढेको होला भनेर व्यंग्य गरेका छन् । उनले केपी ओली बेइमान रहेको कुरा एकपछि अर्को गरेर पुष्टि भैसकेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्