Logo

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना



चितवन, साउन २२ । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो ।

‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताका लागि नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ ।

प्रेम थापा, शिव थापा र सुजिन्द्रबहादुर थापाको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैंसी, बाख्रा लगायत पशुचौपायालाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले उद्योग सञ्चालन गरिएको अध्यक्ष प्रेम थापाले बताए ।

उनका अनुसार हरियो मकैसहितको बोटलाई काटेर मेशिनको माध्यमबाट प्याकेजिङ गरिन्छ । घाँस प्याकेजिङ गर्दा नै वस्तुभाउलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखिने उनले बताए । यसरी प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ ।

स्थानीय किसानले लगाएको मकैको हरियो बोटसहित प्रतिकट्ठा २ हजारदेखि ३ हजार रुपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए । उनका अनुसार हाल जिल्लाका पदमपुर, जमुनापुर र पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको छ ।

माग बढ्दै गएमा अन्य जिल्लाबाट पनि मकैको बोट खरीद गरेर ल्याइने बताइएको छ । आजको आर्थिक अभियान दैनिकमा सूर्यप्रसाद अधिकारीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्