Logo

गुम्दै यार्सागुम्बाको आम्दानी



ताप्लेजुङ, साउन २२ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रका समुदायले यार्सागुम्बा संकलनबाट आम्दानी गुमेको छ । जिल्लाको एक मात्र क्षेत्रमा संकलन हुँदै आएको यार्सागुम्बा कोभिडका कारणले यस वर्ष संकलन हुन नसके पछि तोक्पेगोलाका समुदायको आम्दानी गुम्दै गएको हो ।

विगतका वर्षहरूमा प्रमुख आम्दानीको स्रोतको रूपमा रहेको यार्सागुम्बा कोभिड—१९ का कारणले चीनको नाका बन्द भएसँगै यार्सा संकलनबाट स्थानीयले आम्दानी लिन नसकेका हुन् । जेठ अन्तिम सातादेखि संकलनका लागि अनुमति खुल्ला भए पनि संकलनका लागि अनुमति पुर्जी लिन नआएको तोक्पेगोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेन्जीङ शेर्पाले बताए। समुद्र सतहदेखि चार हजार ५सय मिटर उचाइ भएको क्षेत्रमा यार्सागुम्बा पाइने भए पनि यस वर्ष कोभिड—१९ का कारणले संकलन हुन नसकेको शेर्पाले बताए।

यार्सा संकलन गर्न अनुमति तोक्पेगोला सामुदायिक वन उपभोक्ता समितिले दिंदै आएको अध्यक्ष शेर्पाले बताए ।
सामुदायिक वन उपभोक्ता समितिले यार्सा संकलनका लागि नियम बनाएको छ । मिक्वाखोला गाउँपालिका–५ का स्थानीयवासीलाई यार्सा संकलन गर्न अनुमतिका लागि प्रतिव्यक्ति ५सय रुपियाँ दस्तुर बुझाउनु पर्नेछ । अन्य वडा र अन्य गाउँपालिकाका नागरिकले संकलन अनुमतिका लागि एक हजार ५सय रुपियाँ दस्तुर बुझाउनु पर्ने नियम रहेको शेर्पाले बताए ।

विगत वर्षहरूमा ६० जनाभन्दा धेरैलाई यार्सा संकलन अनुमति दिंदै आएको भए पनि कोभिडका कारणले अनुमतिका लागि आवदेन नआएको शेर्पाले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्