Logo

माधव नेपाल पक्ष सरकारमा गए उपसभामुखसहित ६ मन्त्री पाउने



काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल सरकारमा नजाने भनिरहेको छ । तर, यो भनाई उसको रणनीतिक मात्र भएको बुझिएको छ । नेपाल पक्षले संविधान र विद्यमान कानुन अनुसार सरकारमा जान बाधा रहेको निष्कर्ष निकालेको छ । तर, नेपाल पक्षले सरकारमा जाने सम्भावनाको ढोका पूर्णत बन्द गरिसकेको छैन ।

एमाले एक हुने या नहुने छिनोफानो आगामी हप्ता लागिसक्ने भएकाले त्यसले नै नेपाल पक्ष सरकारमा जाने नजाने निश्चित गर्ने बुझिएको छ । एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी भएमा उपसभामुखसहित ६ मन्त्री पाउने बुझिएको छ ।

संविधान अनुसार एउटै दलको सभामुख र उपसभामुख हुन मिल्दैन । माओवादी केन्द्रबाट सभामुख भएकाले उपसभामुख एमालेको माधव नेपाल पक्षले पाउने गरी प्रस्ताव पुगिसकेको छ ।

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदमध्ये अधिकांश सरकारमा जान आतुर छन् । उनीहरु नेता नेपालमाथि दबाब दिइरहेका छन् । तर, त्यसका लागि माधव नेपाल पक्ष ओलीसँग वार कि पार गरेर मात्र टुंगो लगाउने पक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्