Logo

ओलीको पालामा भएका स्वास्थ्य सामाग्री खरिदको फाइल खोलियो, दोषीहरु जेल जान सक्ने



काठमाडौं, २२ साउन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामाग्री खरिद भएका थिए । अरबौं रकमको स्वास्थ्य सामाग्री खरिद विवादमा परेको थियो । चीनलगायत देशहरुबाट त्यस्ता सामाग्री खरिद गरी चाटर्ड विमानबाट समेत ल्याइएका थिए ।

स्वास्थ्य सामाग्रीको खास खरिद मूल्यभन्दा धेरै बढी मूल्य देखाएर खरिद भएको भन्दै सरकारको आलोचना समेत भएको थियो । तर, तत्कालीन सरकारले खरिदको बचाऊ गरेको थियो ।

सरकार परिवर्तन भएलगत्तै स्वास्थ्य सामाग्री खरिदको अनुसन्धान अगाडि बढाइएको छ । पुराना फाइलहरु खोल्न थालिएको छ ।

आज गठबन्धनको न्यूनतम साझा कार्यक्रममा पनि स्वास्थ्य सामाग्री खरिदको छानविनको विषय प्राथमिकतामा राखिएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि स्वास्थ्य सामाग्री खरिदबारे छानविन गरी कानुनको उल्लंघन भएको उल्लेख गरेको थियो । तर, छानविन भएर थप कारबाही अगाडि बढेन । शेरबहादुर देउवा नेतृत्वको सरकारले पुरानो फाइल खोल्दै छानविन अगाडि बढाइसकेको बुझिएको छ ।

स्वास्थ्य सामाग्री खरिदमा तत्कालीन सरकारका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका जिम्मेवारी कर्मचारी, खरिदमा संलग्न कम्पनी र व्यापारीहरुमाथि छानविन बढेको बुझिएको छ । उनीहरु दोषी पाइए सरकारले कानुन बमोजिम कडा कारबाही गर्ने योजनासहित कदम चालिसकेको बुझिएको छ । स्वास्थ्य सामाग्री खरिदमा संलग्नहरु दोषी पाइए जेल सम्म हाल्ने गरी फाइल खोलिएको विश्वस्त स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्