Logo

सुवास नेम्वाङ र विष्णु पौडेलका कारण अध्यक्ष ओली दबाबमा, माधव नेपाल जवाफ कुर्दै



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको दबाबका कारण एकताकोलागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै जना सकारात्मक देखिएका छन् । नेपाल समूहको हिजो र आज बसेको केन्द्रीय कमिटी बैठकले पनि एकताको लागि अधिकतम प्रयास गर्ने निश्कर्ष निकालेको छ ।

आजको बैठकलाई समापन गर्दै नेता नेपालले अध्यक्ष ओलीले जतिसुकै गाली गरेपनि आफू एकताको लागि लचिलो बन्ने बताएका थिए । साथै, एकताको लागि सबै नेताहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने पनि नेता नेपालको धारणा थियो । दिउँसोसम्म नेपाल पक्षधर नेताहरुले अहिलेको अवस्थामा ओलीसँग मिल्न नसकिने धारणा राखेका थिए । ओलीले माफी नमागेसम्म एकता नगर्ने निश्कर्ष निकालिएको मेटमणि चौधरीले सुनाएका थिए । तर, बैठक सम्पन्न भएपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले भने एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकालिएको सुनाएका थिए ।

पन्तले भने,‘आज ३५ जना केन्द्रीय सदस्यहरुले बोल्नुभयो । सबैले पार्टी एकतामा जोड दिनुभयो । यो बैठक सकिएपछि स्थायी कमिटी बैठक बस्यो । स्थायी कमिटी बैठकले केही प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगियो । वरिष्ठ नेता माधव कुमार नेपालले समापन सम्बोधन गर्नुभयो । हामीले पनि आलोचना गर्दा जिम्मेवार बन्नुपर्छ भन्नुभयो । दक्षिणपन्थी विचारको विरुद्ध संघर्ष गर्दा एकताबद्ध भएर अघि बढ्नुपर्छ । केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिलेपनि पार्टी एकता होस भन्ने पक्षमा छु । एकताको लागि मेरो प्रयत्न जारी छ । केपीले हामीलाई अलमल्याउन खोजेको त होईन ?

भन्ने आशंका धेरै साथीहरुले गर्नुभएको छ, तर म त्यस्तो नहोला भन्ने गान्छु । एकतामा जोड दिन चाहन्छु ।’

खासगरी ओलीसँग नेता नेपाल बिच्किनुको कारण चाहीँ ओली आफैले एकताको लागि समान अधिकारसहित अध्यक्ष दिने प्रस्ताव गरेका थिए । अध्यक्ष ओलीनिकट नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलले ओलीको प्रस्ताव लिएर माधव नेपालकहाँ पुगेका थिए । उक्त प्रस्तावमा जेठ गते फर्किने, अध्यक्ष ओली बराबरको अधिकार नेता नेपाललाई दिईने र पार्टीका निर्णयहरुमा दुवै नेताको हस्ताक्षर हुने लगायत थिए ।

तर, नेम्वाङ र पौडेलले यस्तो प्रस्ताव लिएर गएको र यसमा नेपाल पनि सहमत भएको भोलिपल्टै अध्यक्ष ओलीले भने नेता नेपाललाई देशद्रोही र लाजशरम पचेको नेताको रुपमा चित्रण गरेका थिए । ओलीले नेता नेपाललाई गद्दारसमेत करार गरेका थिए । ओलीले एकातिर एकताको प्रस्ताव पठाउने र अर्कोतिर एकताविरोधी अभिव्यक्ति दिएकोले एकता प्रक्रियामा समस्या उत्पन्न भएको उनीििनकट नेताहरुको गुनासो छ ।

कतिसम्म भने पछिल्लो समय ओलीलाई उनको तर्फबाट दूत बनेर नेपालसँग वार्ता गरेका नेताहरु नेम्वाङ र पौडेलले समेत एकताको लागि यसअघि गरेको प्रतिबद्धता पूरा गर्न भनेका छन् । एकताको लागि गम्भीर बन्नको लागि उनीहरुले ओलीलाई आग्रह गरेका छन् । नेता नेपालले भने आफूनिकट नेताहरुलाई एकताको लागि साउन २४ गतेसम्मको बटमलाईन दिएको बुझिएको छ । उनले पार्टी एकताप्रति अध्यक्ष ओलीको पछिल्लो अवस्था के हो ? भनेर पनि नेताहरुलाई सोधेका छन् र त्यसको जवाफ कुरेका छन् ।



प्रतिक्रिया दिनुहोस्