Logo

संविधान संशोधन गरेर ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको सर्जन’ को उपाधि दिनुपर्छ : प्रदेश प्रमुख शेरचन



काठमाडौं, २४ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको सर्जन’ को संज्ञा दिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसमा आयोजित ‘स्मारिका विमोचन तथा सम्मान’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् । उनले भने,‘ऋषि धमला साँच्चिकै नेपाली पत्रकारिताको सर्जन हो । चिकित्सा क्षेत्रको विशेषज्ञ डाक्टरजस्तै नेपाली पत्रकारिता क्षेत्रमा ऋषि धमला पनि सर्जन हो । उहाँले पत्रकारितामार्फत समाजमा भएका विकृति, विसंगति र कुरितीको शल्यक्रिया गर्नुभएको छ ।’

उनले पत्रकार धमलाले सुरुदेखि नै व्यवसायिक पत्रकारितामा जोड दिँदै आएको र पछिल्लो समय जनताले सबैभन्दा बढि हेर्ने कार्यक्रमपनि ‘जनता चान्न चाहन्छन्’ भएको बताए । उनले भने,‘उहाँले जनता जान्न चाहन्छन् कार्यक्रम प्रत्येक नेपालीको जिब्रोमा झुण्ड्याउन सफल हुनुभएको छ । यो कार्यक्रममा आउनेहरुलाई उहाँले ¥याख्¥याख्ती पार्नुभएको छ ।’ उनले पत्रकार धमलालाई सवै क्षेत्रको उत्कृष्ट ज्ञान भएको पत्रकारको रुपमा चित्रणसमेत गरे ।

उनले भने,‘उहाँ बास्तवमा सर्वज्ञानी हुनुहुन्छ । उहाँले पत्रकारिता गर्दा कहिल्यैपनि आग्रह वा पूर्वाग्रह पालेको मैले चाहीँ पाएको छैन् । उहाँले देश र जनताको हितमा आफूलाई पेशामा खरो उतार्नुभएको छ । यो उहाँको अत्यन्तै सवल पक्ष हो । साथै, उहाँ धेरै मेहनती पत्रकार पनि हो । विहान ४ बजेदेखि राति १२ बजेसम्म पत्रकारितामै खट्नुहुन्छ ।’

उनले पत्रकार धमलालाई कांग्रेसनिकट पत्रकार भनेर चित्रण गर्न खोजिएपनि आफूले धमलामा कहिल्यैपनि पार्टी पत्रकारिता गरेको नपाएको जिकिर गरे । उनले भने,‘उहाँ कुनै पार्टीको निकट भएर काम गर्ने पत्रकार होईन, उहाँले जहिल्यैपनि देश र जनताप्रति उत्तरदायी पत्रकारिता गरेको पाईएको छ । यसको लागि म उहाँलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु ।’ उनले संविधान संशोधन गरेर भएपनि पत्रकार धमलालाई ‘नेपाली पत्रकारिताको सर्जन’ भनेर उपाधि दिनुपर्ने बताए ।

शेरचनले पत्रकार धमलाले नेपालको परिवर्तनको हरेक आन्दोलनमा आफूलाई अग्र भागमा राखेर सक्रिय भूमिका खेल्ने पत्रकारको रुपमा पनि चित्रण गरे । उनले भने,‘उहाँल्े जहिल्यैपनि परिवर्तनको पक्षमा कलम चलाउनुभयो । उहाँ व्यवस्थाको लागि लडेको व्यक्ति हो । उहाँको क्लब संसद् नहुँदा मिनि संसद्को रुपमा सक्रिय थियो । अहिलेपनि क्लब सबैको साझा मञ्च बनेको हो । यो गरिमा कायम गर्न ऋषिजीलाई अझै सफलता मिलोस, मेरो शुभकामना छ ।’ उनले रिपोर्टर्स क्लबमा आवाजविहीनहरुको आवाजलाई प्राथमिकता दिने गरिएको पनि स्मरण गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार ऋषि धमलाले गौतम बुद्धको जन्मुभूमि लुम्बिनीमा पछिल्लो समय राजनीतिक विकृति र विसंगति देखिनु सुखद् नभएको भन्दै यो अवस्थामा चाँडो सुधार हुनुपर्नेमा जोड दिए । उनले प्रदेश प्रमुख शेरचन निष्ठावान व्यक्तित्व भएकोले अहिले गिजोलिएको राजनीति पनि विस्तारै संग्लिने पनि बताए । उनले भने,‘मलाई आशा छ, यो प्रदेशमा अहिले देखिएको राजनीतिक संकटको चाँडै समाधान हुनेछ ।’

उनले मुख्यमन्त्री शंकर पोखरेल नेपाली राजनीतिमा भविष्य भएको नेता भएकोले राजनीतिक संकट समाधानको लागि गम्भीर हुनुपर्ने धारणा राखे । उनले अहिले लुम्बिनी प्रदेशमा सांसद किनबेच, अपहरण तथा बन्धक बनाईएका समाचार आउनु नराम्रो भएको पनि सुनाए । उनले भविष्य भएको नेताले सत्ता छोड्नपनि हिम्मत गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘नेपाली राजनीतिमा अत्यन्तै छोटो समय सरकारको नेतृत्व गर्नुभएको विपी कोइराला र मनमोहन अधिकारीले नेपाली जनतामा राम्रो छाप छोड्नुभएको छ । अहिलेपनि जनताले उहाँहरुलाई सम्झिन्छन् । उहाँहरु सफल राजनीतिज्ञ हुनुहुन्छ । उहाँहरुको पदचाप अहिलेको पुस्ताका नेताले पनि पहिल्याउन सक्नुपर्छ ।’

उनले रिपोर्टर्स क्लब नेपाल लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र सुशासनको पक्षमा रहेको सुनाए । र, स्थापना कालदेखि नै क्लबले सोहीअनुसार आफ्नो भूमिका खेलेको उनको भनाई छ । क्लबले आगामी दिनमा देशमा सुशासन कायम गर्नको लागि देशव्यापी रुपमा ‘क्लबका शाखा’ मार्फत सशक्त भूमिका निर्वाह गर्ने पनि धमलाले विश्वास दिलाए । उनले भने,‘अब क्लबको मुख्य नारा नै सुशासन र विकासको लागि भ्रष्टाचार अन्त्य हुनेछ ।’

त्यस्तै, कार्यक्रममा लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडियाले पनि पत्रकार धमलालाई नेपालकै नम्वर वान पत्रकारको रुपमा चित्रण गरे । उनले भने,‘ऋषि धमला नेपालको सेलिब्रेटी हो । उहाँ नेपाली पत्रकारिताको नम्वर वान फिगर हो । उहाँको देशैभरि क्रेज छ । उहाँले सुरुदेखि नै व्यवसायिक पत्रकारिता गर्नुभएको छ । हामीले उहाँलाई लुम्बिनी प्रदेशमा स्वागत गर्न पाएका छौं, यो हाम्रो लागि पनि खुशीको कुरा हो ।’

त्यस्तै, लुम्बिनी प्रदेशका नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसीले पनि पत्रकार ऋषि धमला देश र जनताप्रति उत्तदायी भएर काम गर्ने पत्रकार भएको भन्दै प्रशंसा गरे । उनले भने,‘उहाँको व्यवसायिक पत्रकारिता लोभलाग्दो छ । उहाँ नेपालको नम्वर वान सेलिब्रेटी हो ।’

त्यस्तै, क्लबका लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले पत्रकार धमला आफ्नो आदर्श व्यक्ति भएको र आफू धमलाकै कामबाट प्रभावित भएर पत्रकारिता क्षेत्रमा आएको सुनाए । उनले भने,‘ऋषि धमलाको व्यक्तित्वबाट प्रभावित छु । उहाँको काम गर्ने शैलीले नै आज उहाँ नेपालको नम्वर वान पत्रकार हुनुभएको छ । उहाँको क्षमताको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’

कार्यक्रममा अर्का पत्रकार डा. बालकृष्ण् चापागाँईले पत्रकार धमलाको लुम्बिनी आगमनले अहिले लुम्बिनीमा देखिएको राजनीतिक संकट समाधान हुने विश्वास दिलाए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्