Logo

एमाले बैठकमा ओली र गौतमबीच चर्काचर्की



काठमाडौं, २५ साउन । ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो,’ उपाध्यक्ष बामदेव गौतम नेकपा एमालेको आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग जँगिए ।

गौतमले ओलीमाथि आक्रोश पोखिरहँदा बैठकमा सन्नाटा छाएको थियो । उनी त्यसपछि झन् कडा रुपमा प्रस्तुत हुँदै गए । उनले भने,‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्इक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’

पार्टीमा अनुशासनहीन र गलत गर्ने जोसुकैमाथि कारबाही हुने समेत चेतावनी दिए । उनले भने, ‘पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुन्छ ।’ उनले घुमाउरो तरिकाले ओलीमाथि कारबाहीको विषय पनि उठाए ।

ओलीले अध्यक्षका रुपमा मनलाग्दी गरेको समेत आरोप लगाए । उनले ओलीमाथि व्यङ्ग्य गर्दै भने,‘अध्यक्षले मनपरी गरेको विषयलाई यी अध्यक्षका अधिकारहरु भन्ने शिर्षकमा केही अधिकारहरु थप्नुपर्छ । हाम्रो पार्टीका अध्यक्षलाई मनलाग्दी गर्दा पनि आममाफी हुनेछ भन्ने विधानमा किटानसाथ उल्लेख गरिनुपर्छ ।’

गौतमले विधानमै कतिलाई अपराधी, देशद्रोही र गद्दार भन्न सकिने विधानमै उल्लेख गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए ।

आफूविरुद्ध कडा रुपमा बोल्न थालेपछि ओली पनि आक्रोशित भए । त्यसपछि दुवैबीच चर्काचर्की भयो । गौतम बैठकबाट निस्किएर हिंडे । उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने गरी उठेको बुझिएको छ ।

ओलीसँग पछिल्लो समय असन्तुष्ट गौतम माधवकुमार नेपाल पक्षमा छन् । यद्यपि, उनी पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुँदै आएका छन् । बैठक नेपाल पक्षले भने बहिष्कार गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot