Logo

‘पार्टीमा सम्मानित ढंगले काम गर्ने वातावरण बनोस् भन्ने मात्रै माधव नेपालको कुरा हो’ : सोमप्रसाद पाण्डे



नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सोमप्रसाद पाण्डेले पार्टी एकताको लागि आफूहरुले पहलकदमी लिएको र अहिले एकताको सम्भावना देखिएको दाबी गरेका छन् । उनले पार्टी एकता नै आम नेपाली जनताको चाहना र पार्टी नेता तथा कार्यकर्ताहरुको चाहना भएकोले नेतृत्व पनि एकताको निम्ति गम्भीर बनेको टिप्पणी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले पार्टी एक बनाएर लैजाने कुरामा पार्टीभित्र धेरै काम भैरहेको र अहिले अलिकति आशावादी बन्ने ठाउँ आईसकेको दाबी गरेका छन् । प्रस्तुत छ नेता पाण्डेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँको पार्टीको विवाद समधानको सुत्रहरु तपाईँहरुसंग छ कि छैन एमाले फुट्यो भन्ने चर्चा छ नि ?

अहिले हामी पार्टी एकताको लागि प्रयत्न गरिरहेका छौं । एउटा वास्तविकता के हो भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल उहाँहरु बीचको दुरी टाढा भएको नै हो, धेरै टाढा भएको थियो । तर, अहिले यो बीचमा आईसकेपछि एकताको लागि धेरै ठुलो प्रयत्नमा कार्यदल पनि लाग्यो, र त्यो कार्यदलमा अरु साथीहरु पनि लागिसकेपछि अहिले नेताहरुको बीचमा दूरी कम गर्ने र पार्टी एक बनाएर लैजाने कुरामा पार्टीभित्र धेरै काम भैरहेको छ । अलिकति आशावादी बन्ने ठाउँ आईसकेको छ ।

कसरी आशावादी बन्ने ठाउँ आईसकेको छ, ठ्याकै भन्नुहोस् त त्यसको आधार ?

खास गरेर अब माधव नेपाल विचार समूह र केपी ओली विचार समुहको बीचमा एउटै मिटिङमा बस्नको लागि एउटा विश्वास जगाउने खालको एक आपसमा सम्बन्धलाई भोलि पनि अझै एक–आपसका विश्वास जगाउने खालको बन्छ भन्ने कुरामा अलि लाग्नुभएको छ । त्यो भनेको माधव नेपाल विचार समूह त्यहाँ जाँदाखेरि भोलि दिगो रुपमा यो एकता कायम रहिरहोस् र माधव नेपाललाई भोलि त्यहाँ सम्मानजनक खालको वातावरण बन्नुपर्छ भन्ने माग राख्नुभएको छ । यो एक खालको उहाँको प्रस्ताव छ । त्यो प्रस्तावानुसार केही केही काम गरेर नेताहरु हाम्रो पार्टीका अध्यक्षसंग केही कुरा लैजाने र त्यसअनुसार कुरा गर्ने भन्ने पनि भएको छ । त्यही अनुसार हाम्रो पार्टी एकताबद्ध गर्ने कुरा त होईन हामीहरु एक भएर जाने कुरा हो । त्यसका निम्ति लगभग प्रस्ताव र कुरामा एक किसिमको सहमति देखिन्छ । अहिलेमात्रै के हो भने माधवकुमार नेपाललाई कुन हैसियत दिने भन्ने कुरा मात्रै हो, उहाँ अहिले वरिष्ठ नेता हुनुहुन्छ । योभन्दा पनि थप बाहिरको जिम्मेवारी दिएर एकता र भोलिको कामलाई व्यवस्थित् गरेर पार्टीको सुदृढीकरणलाई अगाडि बढाउनसक्ने खालको माधवकुमार नेपाललाई कुनै यस्तो एउटा स्पेस पनि दिओस भन्ने कुराहरु आएको हो । त्यसैभित्र अलिकति रोकिएको छ । नभए त धेरै कुराहरु त मिलेका छन । टुँगिसकेको र एकताको समस्या समाधान भैसकेको अवस्था त छैन । तर, पनि हामीहरु आशावादी बनेका छौं अहिले ।

तपाईँले भनिरहनुभएको छ कि–केपी शर्मा ओली र माधवकुमार नेपालको बीचमा पहिलेको भन्दा अहिले राम्रो वातावरण भनिसकेको छ’ तर पनि पावर शेयरिङमा कुरा त मिलेको छैन नि ?

हामी एक भएर जाँदाखेरी अलिकति माधवकुमार नेपाल कमरेडलाई भोलिको दिनमा कस्तो खालको जिम्मेवारी दिने, कस्तो खालको त्यो ठाउँमा स्पेस राख्ने भन्नेखालको विषयमा हाम्रो छलफल भएको छ । यो छलफलमा एउटा हैसियत कायम गर्ने कुरालाई मात्रै हाम्रो नेताहरुले वा कार्यदलका साथीहरुले हो । यसमा म पनि त आफनो व्यक्तिगत रुपमा र नेताहरुको सल्लाहमा एकैतिर मात्र होईन दुबैतिरबाट कार्यदलका साथिहरु र नेताहरुसंग कुराकानी भैरहेको छ । नजिक रहेर छलफल गरेको छु र एउटा व्यक्तिगत सम्बन्धको कारणले पनि मैले त्यो काममा आफुलाई संलग्न गरेको छु । तर, अहिले मभन्दा बढि त कार्यदलमा रहेका साथीहरुले काम गरिरहनुभएको छ ।

सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डेलगायत सबैजना पार्टी एकताको लागि सक्रिय हुनुभएको छ, तर मेरो प्रश्न तपाईँ माधवकुमार नेपालको प्रतिनिधिको रुपमा काम गरिरहनुभएको छ कि अध्यक्ष ओलीको प्रतिनिधिको रुपमा ?

म त यहाँ नेकपा (एमाले) को प्रतिनिधिको रुपमा काम गरिरहेको छु । मलाई त यहाँ आन्दोलन कसरी जोगाउने भन्ने कुरा मेरो पहिले उद्देश्य हो । मेरो पहिलो आवश्यकता भनेको नै आन्दोलन जोगाउने कुरा हो । नेताहरु त एउटा महाअधिवेशनमा एउटा हुनुहुन्छ अर्को महाअधिवेशनमा अर्को हुनुहुन्छ । यो आफ्नो ठाउँमा छ । तर, मुख्य कुरा भनेको हाम्रो आन्दोलन जोगाउने कुरा हो । र, नेकपा एमालेलाई एमालेको रुपमा राखिरहने कुरा मुख्य कुरा हो । र, यो मेरो आवश्यकताको विषय हो । मजस्तै लाखौँ कार्यकर्ता र नेताहरुको विषय हो, र ईच्छा हो । मलाई लाग्छ नेताहरुको पनि त्यो चाहाना हो । त्यसैले मैले कसैको प्रतिनिधित्व गरेको छैन । मैले नेकपा एमालेको प्रतिनिधित्व गरेको छु । सग्लो नेकपा एमाले राखिरहनुपर्छ । त्यसमा मुलुकको हित छ । र, नेपाली जनताको हितको लागि नेकपा एमाले विभाजित हुनहुन्न भन्ने मेरो र सम्पुर्ण कार्यकर्ताहरु र जनताहरुको पनि यो चाहाना मैले पाएको छु । त्यसैमा मेरो यो प्रयत्न हो । त्यसैले म त पहिलेदेखिनै एकताको लागि लागिरहेको छु । तपाईँलाई थाहा भएकै कुरा पनि हो । त्यसैले नेताहरु मिलेर जानुपर्छ भन्ने हो । त्यसकारण हाम्रो अहिलेको मुख्य सवाल के हो भने नेताहरुको कारणले पार्टी विभाजन नहोस् ।

अहिलेको अवस्थामा माधव नेपालले के पाउनुभयो भने एकता गर्नुहुन्छ त ? उहाँको एकताको लागि बटमलाईन के हो ?

पदको कुरा अथवा शक्तिको कुरा भन्दापनि माधवकुमार नेपालले त मलाई केही चाहिँदैन भन्नुभएको छ । म अध्यक्षको लागि लालायित भएको होईन, बरु म अरुलाई अध्यक्ष बनाएर भएतापनि पार्टी एकताको काममा सहयोग गर्न चाहन्छु भन्नुएको छ । पार्टीका लागि हामीले आफ्नो जीवन समर्पण गरेका छौं । म १४ वर्ष महासचिव भएर पार्टीलाई यहाँसम्म ल्याउनको लागि मैले महत्वपुर्ण भूमिका रहेको छ । म माले हुँदादेखी एमाले हँुदासम्म सबैको बीचमा थाहा भएकै कुरा हो । मलाई त्यहाँ पदको भन्दापनि पार्टीमा गएर काम गर्ने वातावरण बनोस्, सम्मानित ढंगले मलाई त्यहाँ काम गर्ने वातावरण बनोस् भन्ने मात्रै उहाँको कुरा हो । तर, हामीले के भनेका छौँ भने भोलिपनि यो खालको दूरी बढ्न सक्छ । त्यसैले माधवकुमार नेपाललाई कुनै एउटा स्पेस दिएर अथवा जिम्मेवारी दिएर लगियो भनेदेखी उपयुक्त हुन्छ भन्ने हामीलगायत यसअघि बनेको कार्यदलका साथीहरुको पनि सुझाव र निश्कर्ष हो । र, यो कुरा आम कार्यकर्ताको पनि निश्कर्ष हो । त्यसमा म पनि सहमत हो । यो कुरा मैले एक वर्ष पहिले हाम्रो अध्यक्ष कमरेड केपी शर्मा ओलीसंग पनि प्रस्ताव गरेको थिएँ । २०७७ सालको भदौँ १६ गते पनि एउटा कार्यदल गठन भएको थियो । जुन बेलामा हामी नेकपा थियौँ, त्यो बेलामा पनि मैले के भनेको थिएँ भने–माधवकुमार नेपालको निम्ति पनि कुनै स्पेस तयार गरौँ । त्यसपछि पार्टीभित्र काम गर्नको निम्ति सजिलो हुन्छ । दुवै जना अध्यक्ष हुनुभएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल त्यो ठाउँमा, अर्को कुनै एउटा पद क्रियट गरौं अथवा अहिलेकै पदलाई पनि जिम्मेवारीको पद बनाऔं र माधव नेपाललाई पनि त्यो ठाउँमा स्पेस दिउँ भनेर मैले त पहिले नै २०७७ सालको भदौ १६ गते भनेको थिएँ । त्यतिवेला मैले पार्टीको कार्यदलका सदस्यहरुलाई यो कुरा बडो सुझबुझपूर्ण ढंगले भनेको थिएँ । त्यसपछिका दिनमा मैले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई पनि र नेताहरुलाई पनि त्यसरी गयो भने पार्टीलाई काम गर्न र सुदृढ गर्नको लागि र पार्टी जोगाउन एकता कायम गर्नको लागि सजिलो हुन्छ । त्यसकारुण माधवकुमार नेपाललाई पनि कुनै जिम्मेवारी दिएर जाउँ भनें र मैले बीचबीचमा यो प्रस्ताव पनि राख्ने गरेको थिएँ । म अहिलेपनि त्यही नै भनिरहेको छु । मेरो मूल कुरा के हो भने पार्टी एकता जोगाउन पार्टीभित्रको कामलाई भोलिका दिनमा व्यवस्थित् गर्नको निम्ति यी दुबै जना नेताहरुको जिम्मेवारी भयो भनेदेखि सजिलो हुन्छ । त्यसले भोलि उहाँहरुबीच एक–अर्कामा सम्बन्ध पनि सुधारिएर जान्छ भन्ने उद्देश्यले मैले त्यो कुरा गरेको थिएँ । तर, माधव नेपालले यो कुरामा धेरै अप्ठ्यारो मानेको र मैले पनि पदको निम्ति लडेको राम्रो हँुदैन् भन्नुभएको थियो । तर, पार्टीको एकता कायम गर्नको निम्ति र कामलाई व्यवस्थित् गर्नको निम्ति नेकपा एमालेको संगठन बनाउनको निम्ति दुबै नेताका त्यही खालको भूमिका हुँदा राम्रो हुन्छ भन्ने भनाई हाम्रो हो । अहिलेपनि त्यो कुरामा छलफल चलिराखेको छ ।



प्रतिक्रिया दिनुहोस्