Logo

१० सचिवको सरुवा



काठमाडौं, साउन २६। सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय र निकायका १० सचिवको सरुवा गरेको छ । शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका सचिवको सरुवा गरेको हो । जसका अनुसार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा बैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका वेगेन्द्रराज शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा लगिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव किरणराज शर्मालाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ भने प्रधानमन्त्री कार्यालयकै अतिरिक्त समूहमा रहेका रामप्रसाद घिमिरेलाई प्रदेश १ को प्रमुख सचिवमा र कृष्णहरि पुस्करलाई प्रदेश २ को प्रमुख सचिवमा सरुवा गरिएको छ ।

यस्तै प्रदेश १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा र प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयमा अनुसार प्रदेशमा रहेका अन्य केही सचिवलाई पनि केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

गृहमा आउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, पर्यटन सचिव यादवप्रसाद कोइराला, उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदीलगायत प्रयासरत थिए । यसैगरी कृष्णहरि पुस्कर, अर्जुन पोखरेल, गोकर्णमणि दुवाडी, केबलप्रसाद भण्डारी पनि गृहसचिवको दौडमा रहेका थिए । तर, पाण्डेले बाजी मारेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot