Logo

बोनम्यारो पीडित सुशिल शाहीलाई युनिक स्वयमसेवक नेपालद्वारा १५ लाख ८५ हजार रुपैयाँ हस्तान्तरण



काठमाडौं, २७ साउन । बोनम्यारो पीडित दैलेख भगवती गाउँपालिका–२ निवासी दिनेश शाहीका छोरा ११ वर्षीय सुशिल शाहीलाई उपचारको लागि युनिक स्वयमसेवक नेपालले आर्थिक सहयोग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै युनिक स्वयमसेवक नेपालले बिरामी शाहीको उपचारको लागि पुर्वमन्त्री कुन्ती कुमारी शाहीमार्फत १५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

अध्यक्ष एजिला बस्नेत रहेको यस संस्थाले उक्त रकम बिरामी बालकको उपचारमा व्यवस्थापकीय भूमिका निभाउँदै आएकी तथा पुर्वमन्त्री कुन्तीकुमारी शाहीलाई हस्तान्तरण गरेको हो । बालकको हाल काठमाडौंस्थित् सिभिल अस्पतालमा उपचार भैहरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री शाहीले बालकको परिवारको अवस्था कमजोर भएको, उपचारमा ठुलो रकम लाग्ने र त्यो रकम घरपरिवारबाट सम्भव नभएकोले आफूहरुले उपचारको लागि आवश्यक खर्चको बन्दोबस्दो गरेको सुनाईन् । उनले बालकको परिवारको आर्थिक अवस्था कमजोर भएपनि आफुले उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता गरिन् । उनले राजनीतिकमात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्ने बताइन् । उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बच्चाको शल्यक्रिया चाँडै नै सम्पन्न गर्नेसमेत जानकारी दिइन् । बच्चालाई नयाँ जीवन दिनको लागि आफुले हरसम्भव भएसम्म लाग्ने प्रतिवद्धतासमेत दोहोर्याईन् ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बिरामी बालकको स्वास्थ्य लाभ गर्दै उपचारार्थ चलाईएको अभियानलाई साथ र सहयोग गर्ने बताए ।
दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले दैलेखको बच्चालाई आफु र समाजको तर्फबाट सहयोग गर्ने बताए । उनले बालक बचाउने अभियानलाई साथ र सहयोग गर्ने स्पष्ट पारे ।

कार्यक्रमको अन्तिममा युनिक स्वयमसेवक नेपालको तर्फबाट बोल्दै सरोज कार्कीले बिरामी बच्चालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । बालकको चाँडोभन्दा चाँडो शल्यक्रिया होस् भन्दै सफल अपरेसनको कामना गरे ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा आजका कार्यक्रमका संयोजक चक्रबहादुर चन्दले प्राप्त भएको सहयोग रकम बालकको शल्यक्रियामा प्रयोग गरिने बताए । उनले बालकका बाबु बोल्न नसक्ने अवस्थामा रहेको बताउँदै उपचारमा २६/२७ लाख रुपैयाँ लाग्ने बताए । चन्दले अस्पतालमा बालकको शल्यक्रियाको मिति नपाएको गुनासो गर्दै भने,‘डेटको लागि रिक्वेस्ट गरिरहेका छौ ।’ बच्चाको उपचारको लागि जम्मा भएको रकम बालकको नाममा रहेको बैंक खातामा रहेको समेत चन्दले जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा पुर्वमन्त्री शाहीले दैलेखी समाजको तर्फबाट युनिक नेपाललाई धन्यवाद दिदै सम्मानपत्र प्रदान गरेकी थिइन् ।

 

 



प्रतिक्रिया दिनुहोस्