Logo

‘एमसीसी पारित गर्न ओलीको त केही लागेन, शेरबहादुरजीले पनि सक्नुहुन्न्’ : चित्रबहादुर केसी (भिडिओसहित)



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबको दुई/तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । तर, उनले आफ्नो पार्टी सरकारमा जाने भन्दापनि प्रतिपक्षमा बस्ने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको हिजोको संसद्को सम्बोधनलाई सत्ताबाट बाहिरिनुपरेकोमा पीडा पोख्ने कामको रुपमा चित्रण गरेका छन् । कुराकानीको क्रममा उनले भनेका छन्–‘उहाँलाई त सत्ताबाट खस्नु परेको हुनाले धेरै ठुलो चोट लागेको छ नि, उहाँ ४० महिनासम्म सरकारमा बस्दा प्रतिगमनको क्षतिबाहेक केही भएन । अब चाहीँ अहिले सत्ताबाट पराजित भएको झोंक हो । प्रजातन्त्रमा ती झोंक फेर्न पाईन्छ ।’ प्रस्तुत छ अध्यक्ष केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

अब तपाईँले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभयो, सरकारको साझा न्युनतम कार्यक्रम पनि आयो, मन्त्रिपरिषद् कहिले विस्तार गर्नुहुन्छ ?

अब बन्दै गरेको छ नि, अब केही दिनमा सरकारले पूर्णता पाउँछ ।

कति दिनभित्र हुन्छ ?

दिन, मिति, समय, घडी, पला र समय त अहिले भन्न सकिन्नँ, सरकारमा जाने साथीहरुको बीचमा धेरै छलफल हँुदैछ । मलाई लाग्छ अब मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्गिन्छ ।

चाँडै भन्नाले कहिले टुिङ्गन्छ ? एक महिना भैईसक्यो शेरबहादुर देउवा प्रधानमन्त्री भएको त, अहिलेसम्म मन्त्रिपरिषद् गठन भएको छैन ?

हुन्छ नि, अब पार्टीभित्रका समस्याहरु छन । सरकारमा जाने मान्छेहरुले पनि धेरैले लुगा सिलाएर बसेका छन । सबैलाई सरकारमा लान पनि सकिन्न । यसो भएको हुनाले पार्टीभित्रका किचलोहरुलाई पनि सहजै समाधान गर्न सकिन्न, अलि गाह«ो परेको छ । ढिलो/चाँडो यो समस्या समाधान हुन्छ ।

तपाईँ पनि सत्ता गठबन्धनमा आवद्ध हुनुहुन्छ, सरकारले कहिले पूर्णता पाउँछ भनेर थाहा हुँदैन् त ?

त्यो कति दिन के भनेर पार्टीका नेताहरुलाई सोध्नुपर्छ । मेरा हातमा त छैन नि त्यो त । म गठबन्धनमा छु, तर सरकार बनाउने ? मन्त्रालय बाँडफाँड र भाग लाउनेमा म त छैन नि । म त प्रतिपक्षमा छु अहिले ।

अहिले प्रतिपक्षमा पुगिसक्नु भयो तपाईँ ?

म त प्रतिपक्षमा छु त ।

तपाईँ प्रतिपक्षमा किन ?

देशभरिका जति दलहरु छन् ती सबै सरकारमा सामेल हुनुपर्छ भन्ने हुन्छ ?

तपाईँको पार्टीलाई त प्रधानमन्त्रीले भन्नुभएको छ सरकारमा आउनुहोस् भनेर ? तपाईँहरु साँच्चै सरकारमा नजाने त ?

त्यो त पहिलेका पार्टी नेताहरुले पनि भन्ने कुरा हुन्थ्यो नि त । सधैंभरि सरकारमा जानको लागि मात्रै राजनीति गर्ने हो र ?

सरकारमा जानको लागि मान्छेहरु मरिहत्ते गर्छन्, मन्त्री बन्नको लागि मरिहत्ते गर्छन्, तपाईँ किन नजाने ?

सबको सब सरकारमा गएर साध्यनै हुन्न । प्रतिपक्षमा पनि बस्नुपर्छ । सत्ता पक्षमा पनि बस्नुपर्छ । सरकारमा नै जानको लागि मन्त्रिमण्डलमा सामेल हुनकै लागि र त्यहाँ गएर धन कमाउनकै लागि राजनीति गर्ने प्रवित्ति गलत प्रविधि हो ।

हिजो केपी शर्मा ओलीले संसद्को रोष्ट्रमबाट वर्तमान सरकारलाई र प्रधानमन्त्रीको कडा आलोचना गर्नुभएको छ, यसलाई तपाईँले कसरी लिनुभएको छ ?

उहाँलाई त सत्ताबाट खस्नु परेको हुनाले धेरै ठुलो चोट लागेको छ नि त, उहाँलाई ४० महिनासम्म प्रतिगमनको क्षतिबाहेक केही भएन । अब चाहीँ अहिले सत्ताबाट पराजित भएको झोंक हो । प्रजातन्त्रमा ती झोंक फेर्न पाईन्छ ।

तर, एमसीसी सम्झौतालाई लिएर सरकारलाई त उहाँ (ओली) को प्रश्नैप्रश्न छ नि ?

अहिलेसम्म एमसीसी पास गरेर अमेरिकालाई देखाईदिएको भए हुन्थ्यो नि, कसले छेकेको थियो र उहाँलाई ?

उहाँले त शेरबहादुर देउवालाई कहिले पारित हुन्छ एमसीसी प्रधानमन्त्रीज्यु भनेर साोध्नुभएको छ ?

उहाँलाई ४० महिनासम्म पारित गर्न महाभारत भयो । त्यो भएको हुनाले अहिले अरुलाई भन्न त सजिलो छ नि । नेपाली जनता एमसीसी पारित गर्ने पक्षमा छैनन् । त्यसो भएको हुनाले तत्कालिन प्रधानमन्त्री ओलीको त केही लागेन शेरबहादुरजीले पनि सक्नुहुन्न् । यो त जगजाहेर छ त ।

एमसीसी पारित गर्न शेरबहादुर देउवाले किन नसक्ने ? उहासँग बहुमत छ नि ?

बहुमत भएपनि संसद्बाट एमसीसी पारित गर्न सबैजना तयार छन त ? तयार छैनन् नि ।

तर, एमसीसी त राष्ट्र र जनताको लागि हो, यो पारित गर्नुपर्छ र यसले विकासको ढोका खोल्छ भनिएको छ नि ?

त्यो धेरैले बुझिसकेका छन् नि, एमसीसी के को लागि हो भनेर जनताले बुझेका छन् ।

उसो भए एमसीसी के को लागि हो त ? सबैले बुझ्नेगरि बताईदिनुहोस त ?

त्यो धेरैले बुझिसकेका छन् । यो राष्ट्रको हितमा छैन । देशको पक्षमा छैन । तपाईँको यही मिडियामार्फत पनि मैले धेरैपटक बोलिसकेको छु । एमसीसी नेपाली जनताको हितमा छैन । त्यसैकारणले नेपाली जनताले सुरुवाती दिनदेखि नै एमसीसीको विरोध गरिरहेका छन । त्यसकारण यसको नेपालमा कुनै औचित्य छैन् ।

हिजो शरेबहादुर देउवालाई केपी शर्मा आलीले भनेको कुरा सुन्नुभयो ? म प्रतिगागी होईन र प्रतिगामी त तपाईँ हो, तपाईँले दरबारमा बझाउनु भएको कदमलाई म के भनौँ भन्नुभयो नि ?

पटक–पटक २०७२ सालको संविधान ध्वस्त पार्ने, पटक–पटक संसद्को भोट ध्वस्त पार्ने, त्यो हरुवा गोरुको छेरुवा ताल भनेजस्तै हो, अहिले आएर जे कुरा गरेपनि भयो । जे बकवास गरेपनि अब यो नेपाली जनताले पत्याउनेवाला छैनन् । उहाँले विचार गरेर बोले हुन्छ अब ।

उहाँले त ‘मेरै पार्टीका मान्छे हिरिक्क हिरिक्क भएर बसेका छन्, मन्त्री बन्नको लागि चाकडी गरेको गरैछन्, कृपया तिनीहरुलाई मन्त्री बनाईदिनुहोस् प्रधानमन्त्रीज्यु’ भनेर भन्नुभयो नि ?

होईन, उहाँलाई विस्थापन गरेपछि त सरकार त बनाउनपर्यो नि त । सरकार नबनेपछि त देश चल्दैन नि । त्यसो भएको हुनाले उहाँकै वरिपरि घुमेरे ओलीलाई यो स्थितिमा पुर्याउने उहाँकै मान्छे थिए र उहाँपनि त्यही हाहामा हिँडेर ४० महिना खेर फाल्नुभयो । घ्यु गफ गरेपनि, घ्यु खाएपनि देउवा त्यही छन । देशमा सुशाशन कति भयो ? भ्रष्टाचार कति हट्यो ? देशको राष्ट्रियताको कति सुरक्षा भयो ? नेपाली जनताले देखेका छन नि, अनि जनताले कति सुख पाए ? खोपको लागि उहाँले कति काम गर्नुभयो, पटक–पटक नचाहिएको नेपाली जनतालाई निर्वाचनमा लैजानको निम्ति उहाँले प्रयास गर्नुभयो । नेपाली जनताले त्यो ईन्कार गरे । अहिले उहाँ त्यही कारणले सत्ताबाट पछारिएको हुनाले त्यही रिश उहाँले पोखिरहनुभएको छ । अहिले डाहा पोख्ने होईन, बरु संयमित भएर २०६२÷०६३ सालको आन्दोलनको रक्षा गर्नुपर्छ । र, अब प्रतिपक्षको हैसियतले आफुलाई लागेको कुरा गर्न पाईन्थ्यो । उहाँले संसद् चलाउने बेलामा भत्काउनेबाहेक उहाँको केही काम भएन, बल्ल सदनमा जान लाग्नुभएको छ । ठिक छ, राम्रो गर्नुभएको छ भन्ने लाग्छ मलाई त ।

तपाईँहरु साझा न्युनतम कार्यक्रममा कालापानी, लिपुलेकको बारेमा केही पनि आएको छैन नि ?

अहिले संसद्मा बसेका सबै पार्टीहरु लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा राख्नको लागि सबै एक भएका होईनन् र ? त्यसको कुटनीतिक हिसाबले त्यसको समाधान गर्नुपर्छ भन्ने त आएको छ नि न्यूनतम साझा कार्यक्रममा ।

त्यसो भए नेपालको भू–भाग कसरी फिर्ता गर्नुहुन्छ तपाईँ ?

कसरी फिर्ता गर्ने भन्ने कुरा त फिर्ता गर्ने अरुलाई पनि सोध्नुपर्यो, ओलीले ४० महिनामा फिर्ता गरेर देखाएको भए राम्रै हुन्थ्यो । उहाँले त गणतन्त्र नै फिर्ता गर्न खोज्नुभएको थियो । उहाँ पशुपतिको पुजा गर्नतिर लागेका मान्छेले यति ठुला–ठुला कुरा गर्न सुहाउन्न । त्यसकारण नेपाली जनताले आफ्नो भूभाग जुनसुकै मुल्य चुकाएर भएपनि फिर्ता लिन्छन । त्यसकारणले कुनै नेताको, कुनै व्यक्तिको ठेक्का होईन । यो देश राष्ट्रियता र अखण्डता नेपाली जनताले बुझेका छन । नेपाली जनतामाथि कहाँ कहाँ हस्तक्षेप भएको छ ?, नेपालीहरुको कहाँ कहाँ अनाबश्यक हत्या भैरहेको छ ? नेपाली जनताले देखिराखेका छन । त्यसकारण कसैले पनि नेपाल र नेपालीमाथि अब दादागिरी खेल्न पाउदैन नेपाली जनता सचेत छन । संयमित छन् । त्यसकारणले आफ्नो भूभाग ढिलो÷चाँडो नेपाली जनताले फिर्ता लिन्छन् ।

स्वास्थ्य सामाग्री खरिदको कुरामा छानबिन गरेर भ्रष्टाचार भएको देखाउन पनि चुनौति दिनुभएको छ नि केपी ओलीले वर्तमान सरकारलाई ?

अब सत्ता बाहिर गईयो भनेर उम्कन त पाईयो नि, सत्तामा बसेको बेला राम्रो काम गरेको प्रशंसा पनि पाइन्छ र नराम्रो काम गरेको अपझस पनि पाईन्छ । त्यसो भएको हुनाले छानबिन त हुन्छ त ।

अनि एमालेका माधव कुमार नेपाल समुहलाई सरकारमा ल्याउने तयारी भएको हो त ?

हामीहरुले घिसारेर ल्याउने हो र सरकारमा ? उहाँहरुले केपी ओलीका विरुद्धमा अडान नलिएको भए र माधव कमरेड नकस्सिएको भए यो प्रतिगमन पराजित हुने थिएन । त्यसकारण उहाँहरु सरकारमा आउनको लागि आवश्यक पर्ला, तर यो पार्टीभित्रको कुरा हो । मैले भनेर हँुदैन ।

अब लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्छ ?

बन्नै पर्यो नि ।



प्रतिक्रिया दिनुहोस्