Logo

महतोको प्रश्न : ‘यो संविधानमा खोई हाम्रो अनुहार?’



काठमाडौं, २८ साउन । जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपालको निर्माण हुँदाखेरी नेपालमा आ–आफ्नो पहिचान रहेको स्मरण गराए । नेपालमा पहिले विभिन्न राज्यहरु रहेको र पहिचानको नाममा शासन भएको पनि उनले इतिहास सुनाए । उनले भने,‘आजको नेपाल जुन हो, यो एकल जातीय होईन । २२औं र २३औं राज्य हुँदा, विभिन्न पहिचान भएका राज्यहरु थिए, त्यो सबैलाई एकीकृत गरेर नेपाल बनाईयो । यो सुखद् पक्ष हो । त्यो बनाईएपछि आज हामी नेपाली भएका हौं ।’

उनले शासनको कुरा गर्दा विविधता र बहुलताले भरिएको देशको शासन प्रणाली त्यहीअनुसार नभएको गुनासो पोखे । उनले भने,‘नेपालको समस्या भनेको सबै पहिचान मेटाउने प्रयास भैरहेको छ । सबैको मान, स्वाभिमानमाथि आक्रमण गर्ने प्रयास भैरहेको छ । यो त कसरी बरदास्त हुन्छ ?’ शासन गर्दा मानवको सम्मानलाई ईन्कार गर्न नहुने कुरा सबैले बुझ्नुपर्नेमा जोड दिए ।

आज (बिहीबार) योङ ईण्डिजिनिष्ट लिगले आयोजना गरेको बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रि मुक्ति क्रान्तिको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पृथ्वीनारायण शाहले एकीकरण अभियान चलाउँदा भूगोलको मात्रै एकता भएको तर भावनात्मक एकता नभएको उनको गुनासो थियो । उनले दुनियाँमा नै शासन संविधानअनुसार चल्ने गरेको उल्लेख गरे । नेपालमा ७ वटा संविधान नेपाली जनताले बनाएको पनि सुनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्