Logo

माधव नेपाललाई केशब बडालको आग्रह : ‘तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस’ (भिडिओ)



‘प्रचण्ड हेडमास्टर हुँदा देवी ज्ञवाली पार्टीमा पूर्णकालिन सदस्य हुनुहुन्थ्यो’
काठमाडौं, २८ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताको लागि नै लाग्नुपर्नेमा जोड दिए ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडालले भने,‘यसअघि एकताको लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो । तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस । ३८ वर्षसम्म तमाम दुःख गरेर तपाईँसँगै एउटै कमिटीमा बसेर काम गरेको एक जना सदस्यको रुपमा भन्न चाहन्छु–त्यस्तो गलत काम नगर्नुहोस ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठूलो अपराध भएको पनि टिप्पणी गरे । नेपाललगायत नेताहरुले पार्टीको विधान र नीतिविपरित गतिविधि गरेकोले उनीहरुलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदैपनि आफूहरुले एकताको लागि कारबाही नगरेको उनको भनाई थियो ।

नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने भएकोले आवश्यक गतिविधि अघि बढाउनैपर्ने भएकोले सोहीअनुसार कामकारबाही अघि बढाईएको स्पष्ट पारेका छन् । उनले भने,‘महाधिवेशनभन्दा अघि विधान अधिवेशन गर्नैपर्छ । त्यसको लागि भदौ २७ र २८ गते विधान अधिवेशन तय भएको छ । बैशाख १० गतेसम्म महाधिवेशन गर्ने अन्तिम मिति हो । महाधिवेशन गर्न अलमल गर्ने कुरा हुँदैन् । अहिले अध्यक्ष ओली हट्ने भन्ने कुरा छैन् । तपाईँलाई अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस न माधवजी । तर, अहिले दायाँबायाँ गर्ने काम नगर्नुहोस ।’

तत्कालिन् प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेकसहितको चुच्चे नक्शा पारित हुनेबित्तिकै उनलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउनुपर्छ भनेर प्रचण्ड, माधव नेपाललगायत नेताहरु लागिपरेको उनको भनाई थियो । उनले भने,‘सचिवालयका ९ मध्ये ५ जनाले विरोध गर्नुभयो । आफ्नो पार्टीलाई कमजोर बनाउने काम उहाँहरुले गर्नुभयो । माधव नेपाल त कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनैपर्ने भनेर लाग्नुभयो । आफ्नै पार्टीका अध्यक्ष ओलीलाई कुनै हालतमा हराउनैपर्ने भन्दै गलत काम गर्नुभयो । तपाईँलाई नेपाली जनताले ईमानदार कहिल्यै पनि भन्दैनन् ।’

माधव नेपाल त फष्ट म्यान भएर काम गरिसकेको मान्छे भएकाले फेरि अध्यक्ष बन्न मन लागेको भए अर्को महाधिवेशनसम्म कुर्दा हुन्थ्यो भन्ने पनि उनको भनाई छ । उनले भने,‘अध्यक्ष ओलीले त एक कार्यकालमात्रै अध्यक्ष हुन्छु भन्नुभएको थियो । तर, उहाँलाई बीचमै हटाउन खोजियो । एमालेलाई कमजोर बनाउने काम माधवजीले गर्नुभयो । तपाईँको सन्तान, दरसन्तानलाई कहिल्यैपनि माफी दिने छैन् । त्यो गल्ती नगर्न र फेरि पनि एकताको लागि गम्भीर बन्नुहोस ।’

यदि माधव नेपालले एमाले छोडेर जानुभयो भने कस्तो खालको कारबाही हुन्छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने‘एमालेको नीति, निर्णय विधिसम्मत् रुपले पालना गर्नुपर्छ । पालना नभए त्यो व्यक्ति पार्टीको सदस्यको रुपमा रहन सक्दैन् । २०७७ बैशाख २७ गते आफ्नो पार्टीको अध्यक्षलाई विश्वासको मत नदिएर माधव नेपाल बाहिर बस्नुभयो, त्यतिवेला नै कारबाहीको लागि पर्याप्त आधार देखियो । गए जाउन भन्ने कुरा हामीले सोच्नुहुँदैन भनेर सोच्यौं । पछि हुँदाहुँदै आफ्नो पार्टीको अध्यक्षलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनुभयो । कतिसम्म भने एमालेका कतिपय सांंसद्को सार्वजनिक लेखा समितिमा माधव नेपालले आफूलाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्न लगाउनुभयो भनेस सोमप्रसाद पाण्डेले भन्नुभयो ।’

देउवालाई प्रधानमन्त्री बनाउनको लागि माधव नेपालसहित सांसदहरु सर्वोच्च अदालतमा लाईन लाएर गएको पनि उनले स्मरण गराए । उनले भने,‘पार्टीको कारबाहीको लागि यो प्रमाण नै यथेष्ट छ । अहिले पनि म भनिरहेको छु कि मान्छेबाट भूल हुन्छ । गल्ती करेक्सन गर्नुहोस । दश बुँदे दस्तावेजमा आउनुभयो भने एकता हुन्छ । यसरी नै अघि बढौं ।’

केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्ने भनेर माधव नेपाल समूहले अघि सारेको शर्तलाई उनले निरीह र बेईमानी कुराको संज्ञा दिएका छन् । उनले भने,‘बुटवल महाधिवेशनमा म झलनाथको पक्षमा थिएँ । माधव नेपालेले केपी ओलीबिना पार्टी चल्दैन भन्नुभयो । नवौं महाधिवेशनमा केपी ओलीकै विरुद्धमा चुनाव लड्नुभयो । अब हाम्रो पार्टीमा अध्यक्ष प्रत्यक्ष निर्वाचन हुन्छ । महासचिव पनि प्रत्यक्ष निर्वाचित हुन्छ । अहिले ओलीले अध्यक्ष छोड्ने कुरा आउँदैन् । हामी ३ करोड नेपाली जनताको बीचमा एमालेलाई सशक्त र प्रभावकारी बनाउँछौं ।’

त्यस्तै, नेता बडालले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग विघटन गरेकोमा आपत्ति जनाए । उनले आयोगमा रहेका अध्यक्ष देवीप्रसाद ज्ञवाली नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डभन्दा लामो राजनीतिक ईतिहास भएको व्यक्ति भएको पनि स्मरण गराए । उनले भने,‘प्रचण्ठ हाईस्कुलको हेडमास्टर हुँदा देवी ज्ञवाली त पार्टीमा पूर्णकालिन सदस्य हुनुहुन्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्