Logo

प्रचण्डले देखाए लुम्बिनीमा रोल्पा हुनुको शक्ति



काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेशमा रोल्पा पनि पर्दछ । रोल्पा जिल्ला माओवादी ‘जनयुद्ध’को आधार क्षेत्र हो । ‘जनयुद्ध’मा रोल्पा सबैभन्दा सशस्त्र द्वन्द्व प्रभावित जिल्ला मानिन्थ्यो ।

शान्ति प्रक्रियामा आएपछि भएका संविधानसभाका २ र प्रतिनिधि सभाको १ गरी तीनवटा चुनावमा माओवादीकै वर्चश्व बन्यो । स्थानीय निकायको चुनावमा पनि रोल्पामा माओवादी प्रभावशाली देखियो । तर, रोल्पा समेत रहेको लुम्बिनी प्रदेशको चुनावमा माओवादी तेस्रो पार्टी बन्यो । यसले प्रचण्डलाई निकै पीडा पुगेको थियो ।

राजनीतिक घटनाक्रमले लुम्बिनीमा तेस्रो ठूलो दल भएपनि माओवादीको वर्चश्व बनेको छ । प्रदेश प्रमुख माओवादीकै पूर्वनेता अमिक शेरचन छन् । मुख्यमन्त्रीमा रोल्पाबाट निर्वाचित माओवादी प्रदेश सांसद कुलप्रसाद केसी नियुक्त भएका छन् । सभामुखमा माओवादीकै पूर्णबहादुर घर्ती छन् ।

लुम्बिनीमा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसमेत आफ्नो दलका र निकटस्थलाई बनाएर प्रचण्डले प्रभाव देखाएका छन् । त्यसो त नारायणी नदी पारी महाकालीसम्म तीनवटा प्रदेशहरुमा माओवादीकै सरकार छन् । सुदूरपश्चिम र कर्णालीमा माओवादीका मुख्यमन्त्रीहरु साँढे ३ वर्षभन्दा बढी समययता शासनमा छन् ।

प्रचण्डले लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आफूनिकटस्थहरुलाई मुख्यमन्त्री बनाएर त्यस क्षेत्रमै पकड बढाउँदै जान सक्छन् । रणनीतिक चार्तुयता भएका प्रचण्डले केन्द्रमा तेस्रो ठूलो दल भइकन निर्णायक भूमिका निभाइरहेका छन् । प्रदेशहरुमा पनि दोस्रो र तेस्रो ठूलो दल भएपनि सरकारको नेतृत्व माओवादीलाई दिलाउन सकेका छन् । प्रदेश नम्बर २ मा चौंथो ठूलो दल भएपनि प्रचण्डको दल माओवादी सरकारमा छ ।



प्रतिक्रिया दिनुहोस्