Logo

‘आगामी निर्वाचनसम्म हाम्रो गठबन्धन कायम रहन्छ’ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी



लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आफ्नो सरकारको पहिलो प्राथमिकता भनेको आम प्रदेशवासीलाई कोरोनाबाट जोगाउनु रहेको भन्दै यसबारेमा योजना बनाएर नै काम गरिने प्रतिबद्धता जनाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र र संविधानको रक्षा आफूहरुको अर्को दायित्व भएकोले यसमा पनि खरो उत्रिने विश्वास दिलाए । प्रस्तुत छ मुख्यमन्त्री केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरु अब कसरी अगाडि बढनुहुन्छ ? के छ गुरुयोजना ?

पहिले त हाम्रो प्रदेशसभाले बनाएको गुरुयोजना नै पहिलेको योजना नै हाम्रो आम सहमतिजस्तै थियो । लुम्बिनी प्रदेशलाई कस्तो बनाउने भन्ने कुरा त्यसमा हामी प्रतिबद्ध नै छौँ । रणनीतिक महत्वका योजना हाम्रा साझा नै भए, त्यसलाई सम्पन्न गर्नेमा हाम्रो योजना जारी छ । अहिले कोभिडको महाामारी भएको सन्दर्भमा प्रदेशबासी आम जनतालाई खोपको प्राथामिकतालाई पहिलो प्राथामिकतामा राखिनेछ । हिजोमात्रै यसबारेमा हाम्रो क्याविनेटले निर्णय गरेको छ । प्रदेशका जनतालाई खासगरी क्यान्सरबा, मिर्गौला रोगबाट पीडितहरुलाई राहतस्वरुप प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो लोकतन्त्र त्यसपछिको परिवर्तनमा व्यवस्था भएको नेपाली जनताको स्वास्थ्यसम्बन्धीको मौलिक अधिकारलाई सुनिश्चित् गर्ने सुरुवातको रुपमा हामीले लिएका छौँ । बाँकी कुरा हामीले यो लोकतन्त्र, संविधानको रक्षा र संघीयता कार्यान्वयन तीन वटा महत्वको प्रस्तावलाई जसरी केन्द्रीय गठबन्धनले एउटा कार्यक्रमसहित अगाढि बढेको छ । त्यसैको स्पिरिटमा हामीहरु अगाडि बढेर जनताको पीर र मर्कामा मल्हम लगाउने प्रयत्न गर्नेछौँ ।

अहिले तपाईँहरुको गठबन्धनमा जुनखालको सहमति छ, त्यसलाई कार्यान्वयन गर्न सक्नुहुन्छ त ?

हामीले बैशाख ६ गतेदेखि नै एउटा राजनीतिक, सैद्धान्तिक र राजनीतिक महत्वका कारणले नै मोर्चा बनाएको हुनाले मलाई के लाग्दैन् भने हामी चार महिना त अनवरत रुपले संघर्षमा संगसंगै भएकोले अब यो छाडि जाने बेलामा लोभ गर्ने पाप गर्ने र षड्यन्त्र गर्नेजस्ता काम हामीबाट हुँदैन । हामी सहमतिमा ईमानदार छौं । त्यो अघिल्लो सरकारले गरेका नकारात्मक विरासतको हामी सकारात्मक सन्देश दिनको लागि गठवन्धन गरेका छौँ । यतापट्टी गठबन्धन स्वार्थमा लिप्त होला कि भन्ने कुरा मलाई लाग्दैन् किनकी राष्ट्रिय राजनीतिकै अभिभावकत्व गर्ने जिम्मा भएको हुनाले यहाँबाट भाग्न मिल्दैन भन्ने नै मेरो भनाई हो ।

तपाईँलाई गठबन्धन भित्रैबाट तपाईँलाई असहयोग हुन्छ कि हुँदैन् ? तपाईँलाई गठबन्धन भित्रैबाट अप्ठ्यारा हुन्छ कि हुँदैन ?

हाम्रो आन्तरिक बुझाईका कारणले कहिलेकाहीँ आएपनि हामीले आफ्नै पहलकदमीबाट निराकरण गर्दै आईराखेका छौँ । हाम्रो गठबन्धनभित्रका सबै साथीहरु जिम्मेवारनै भएको हुनाले र अलि लामै भार भएको हुनाले हामीले राम्रो भूमिका खेल्नसक्छौँ भन्ने आत्मविश्वास छ ।

तपाईँहरुले जसपाका तीनै जनालाई मन्त्री बनाउनुभयो नि, किन र के कारणले ?

जसपाका साथीहरुले निरन्तर जसरी संघर्ष गर्नुभयो, यो प्रदेशमा सबैभन्दा बढि रिस्क मोल्नुभयो । उहाँको क्षतिस्वरुप र उहाँहरुको आम नेता ताथ कार्यकर्ताहरुलाई पनि आफ्नो पार्टी ईन्ट्याकमा छ, कुनै बेलामा सरकारले त यसलाई दलको मान्यता दिनुहुन्न भनेर पाएको थियो यसको बैधानिकताको निम्ति पनि साथीहरुलाई हामीहरु पछि हटेर भएतापनि उहाँहरुलाई स्पेस दियौँ ।

अब सरकारको नीति र कार्यक्रम, र बजेट कहिले आउँछ त ?

अब अघिल्लो अध्यादेशबाट आएको बजेटको पूनरावलोकन गर्छौं । छिट्टै अधिवेशन संगसंगै क्याविनेटमा लान्छौँ । र, संवैधानिक प्रावधानअनुसार नै हामी अघि बढ्छौं ।

त्यसो भए अघिल्लो सरकारले ल्याएको बजेट संशोधन हुन्छ ?

त्यो त हुन्छ । बहुपक्षीय विकासका योजनाहरुमा हाम्रो सहमतिनै छ । यो पछिल्लो दुई वर्षमा गठबन्धनका निम्ति आर्थिक, भौतिक र नैतिक संवैधानिक सबै ढंगका हर्कत गरेका हुनाले यो अहिलेको परिस्थिति गलत छ । यसलाई हामी करेक्शन गर्छौं ।

त्यसोभए मन्त्रिपरिषद् विस्तार कहिले गर्नुहुन्छ अनि तपाईँले विश्वासको मत कहिले लिनुहन्छ ?

मन्त्रिपरिषद् विस्तार त हामी छिट्टै गर्छौं । हामीले अधिवेशन संगसंगै यसलाई पनि हामीले अगाडि बढाउँछौँ ।

त्यहाँ सञ्चार विधेयक विवादमा छ, तपाईँ मुख्यमन्त्री बनिसकेपछि के गर्नुहुन्छ सञ्चार क्षेत्रको लागि नयाँ काम ?

त्यो विधेयक समितिमा छ । समितिमा उहाँहरुसहित छलफल गरेर सरकारी प्रतितिधि पनि हुनुहुन्छ, माननीयज्युहरु पनि हुनुहुन्छ । यो कुनै अकाट्या विधेयक बनाएको होईन । त्यसभित्रका त्रुटी संशोधन गरेर हामी त्यसलाई सञ्चारमैत्री विधेयकको रुपमा त्यसलाई अगाडि ल्याउँछौँ ।

त्यसोभए जनताको चाहनाअनुसार तपाईँ काम गर्नुहुन्छ ?

जनताको चाहानाभन्दा बाहिर हिँड्न हामीलाई कुनैपनि अधिकार नै छैन ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले गरेका राम्रा कामहरुलाई निरन्तरता दिनुहुन्छ कि त्यत्तिकै छोडिदिनुहुन्छ त ?

राष्ट्रिय गौरवका र बहुवर्षीय योजनामा हाम्रो सहमति छ । त्यसमा हामी सबैका सकारात्मक सोच छ । हाम्रो गठबन्धनले त्यसलाई सकारात्मक तरिकाले नै लिन्छ । तर, संघीयता कार्यान्वयनका कयौं संरचनाहरु, कयौँ नियुक्ति, भर्नालगायत संघीयताका अहित हुनेगरि गरिएका कार्यहरु हामीहरुले हटाएर संघीयताअनुकुल कार्यान्वयन गर्नतिर लाग्छौँ ।

प्रदेश राजधानी दाङमा नै हुन्छ कि अन्त कतै सर्छ ?

नीतिगत रुपले त सरिसक्यो । तर, कार्यकारिणी तवरले हामीले आफ्नै प्रदेशभित्रका अड्डाहरु न हुन । त्यसलाई हामी जहाँ बसेरपनि प्रयोग गर्नसक्छौ र त्यसलाई जहाँ बसेर भएतापनि राम्रो व्यवस्थित् गरेर अगाडि बढाउँछौँ । जहाँ कि राजधानी भनेपछि काम टार्नेजस्तो नभएर ५०÷६० वर्ष पछिका पुस्ताले पनि सम्झनलायक गरिकन त्यसको सम्पूर्ण संरचना, त्यसको डिपिआर निर्माण कार्यहरुलाई अगाडि बढाउँछौं । क्रमशः त्यसलाई व्यवस्थित् गर्छौं र बुटवलदेखि बर्दियासम्मको विचमा प्रशाशनिक क्षेत्रको रुपमा त्यसलाई विस्तार गर्छौं । जति सकिन्छ हामी सुरुवात गर्छौं, हामीले त्यसको फाईनल नगरेता पनि ।

लुम्बिनी प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउन सक्नुहुन्छ ?

त्यसको निम्ति हाम्रो ऐन, कानून र प्रवित्ति केन्द्रदेखि सम्हाल्दै आउनुपर्छ, अहिले यो बीचमा आएका विकृतिहरुलाई पनि सच्याउनुपर्छ । हाम्रो कयौँ ऐन, कानूनहरु परम्परागत छन् । यसलाई हामीले सच्याउनुपर्छ । त्यसलाई संघीयअनुरुप बनाउन र जवाफदेही बनाउनतिर लागियो भने राम्रो हुन्छ भन्ने मेरो भनाई हो । यसमा केही समय लाग्ने म देख्छु । किनकी हाम्रो राजनीतिक प्रणाली जुन छ, यसलाई पनि सुधार गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

तपाईँको गठबन्धन कहिलेसम्म काउम रहन्छ ? चुनावसम्म हो कि अझै १०–२० वर्षसम्म रहन्छ ?

आगामी निर्वाचनसम्म त स्वभाविक रुपमा यो गठबन्धन कायम रहन्छ, किनकी यसको थालनी भैसकेको छ । त्यतिमात्रै होईन, यो एउटा लोकतन्त्रको रक्षाको लागि एउटा जिम्मेवार राजनीतिक शक्ति र समूहहरुको गठवन्धनको रुपबाट नै स्थापित गर्नुपर्छ भन्ने हामीलाई लागेको छ ।

त्यहाँको अहिले तत्कालको समस्या के छ बताउनुहोस् त ?

हाम्रो एउटा उदारणीय कुरा के छ भने हाम्रो प्रदेशसभाका पूर्व माननीय दीर्घनाराण पाण्डेले रिजाईन दिईसकेपछि हामीले गठबन्धनको ईमानदारिता त त्यहीँबाट सुरु गरेका थियौँ । हजुरहरुले पनि देख्नुभएको छ । हाम्रो उम्मेदवारले पनि अत्यधिक मतले जित्नुभयो । यो संस्कार हामीले एक चरणको बनाईसकेका छौँ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्