Logo

३ पटक दल बदलेकी बिमला वली मन्त्री बन्ने



बुटवल, २९ साउन । तीन पटक पार्टी परिवर्तन गरेर चर्चामा आएकी दाङकी निर्वाचित प्रदेश सभा सांसद विमला वली मन्त्री बन्ने भएकी छिन् । उनी लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री बन्ने बुझिएको छ ।

वलीले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका निभाएकी थिइन् । वलीको निर्णायक मतले शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो । ८० सदस्यीय प्रदेशसभामा ३८ एमालेको पक्षमा र ४२ गठबन्धनको पक्षमा थियो । सुर्य चिन्हबाट चुनाव जितेका अजय साह पनि अन्तिम समयमा केसीकै पक्षमा उभिएका थिए । उनले मन्त्री पाइसकेका छन् ।

तत्कालीन नेकपाबाट उपनिर्वाचनमा विजयी विमला वली पार्टी विभाजनपछि माओवादी केन्द्रमा लागेकी थिइन् । उनी फेरि एमालेमा लागिन् । विज्ञप्ति नै निकालेर एमालेमा लागेको जानकारी गराइन् । तर, त्यसको तीन दिनमै अर्को विज्ञप्ति निकालेर माओवादीमै रहेको खुलाइन् ।

वली अन्तिम समयमा आएर निर्णायक भइन् । उनी तानातानमा परिन् । तर, उनकै कारण कुलप्रसाद केसीले बाजी मारे ।

पोखरेल नेतृत्वको सरकार ढाल्न गठबन्धनले निकै कसरत गर्नुपरेको थियो । एमालेबाट प्रत्यक्ष चुनाव जितेका माधवकुमार नेपाल पक्षधर अमरबहादुर डाँगीले राजीनामा नै दिए । डाँगीको राजीनामाले एमालेको सांसद संख्या ४० बाट ३९ मा झरेको थियो । हृदयश त्रिपाठीहरुको स्वतन्त्र समूहबाट सुर्य चिन्ह लिएर चुनाव जितेका अजय शाहीले पनि साथ छाडे ।

सांसदको राजीनामा देखि दल बदल्ने सम्मको कदमबाट कुलप्रसादले अन्तिममा आएर बाजी मारेका हुन् । निर्णायक घडीमा साथ दिने बिमला वलीलाई शंकर पोखरेलले पनि मन्त्री बनाउने भनेका थिए । तर, उनले कुलप्रसाद समूहको प्रस्ताव स्वीकारिन् । उनलाई अबको केही दिनमै मन्त्री बनाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्