Logo

यी हुन् अफगानिस्तान हल्लाउने युद्ध सरदारहरु



एजेन्सी, ३१ साउन । अफगानिस्तानमा यद्ध सरदारहरु निकै प्रभावशाली छन् । त्यहाँको शासन सत्तामा उनीहरुकै प्रभाव हुन्छ । विभिन्न प्रान्त र सहरहरुमा युद्ध सरदारहरुकै बोलवाला छ । सोभियत फौज या अमेरिकी फौज रहँदा नै किन नहोस् अफगानिस्तानमा युद्ध सरदार नै हावी भए । अहिले तालिवानले अफगानिस्तानलाई पुनः कब्जामा लिन लाग्दा युद्ध सरदारहरु सम्झौता गर्ने र भाग्ने क्रम चलेको छ । उनीहरु शक्ति सञ्चय गरेर फेरि आक्रामक ढंगले प्रस्तुत हुन सक्छन् जुन विगतमा देखिएका छन् ।

युद्धसरदार राजनीतिक रुपमा जोखिम उठाउन सक्ने र यसैलाई धन्दाका रुपमा चलाइआएकाहरु हुन् । उनीहरुले संगठित रुपमा हिंसा मच्चाएर निश्चित भूभागमा नियन्त्रण कायम गर्दै आएका छन् । उनीहरुको अफगानिस्तान भित्र र बाहिर प्रभाव छ । बाह्य साथ पनि पाउने गरेका छन् । वैचारिक, आर्थिक, सैन्य, सामाजिक र राजनीतिक क्षेत्रमा रुपान्तरणहरु गर्ने सामथ्र्य राख्छन् ।

युद्धसरदारहरु अफगानिस्तानको केन्द्रीय राजनीतिमा प्रभावशाली भूमिकामा पुगेको इतिहास छ । देशको महत्वपूर्ण पदमा समेत पुग्न सफल भएका छन् ।

अब्दुल रसिद दोस्तमः उनी उज्वेकी मूलका अफगानी हुन् । सोभियत फौज अफगानिस्तानमा हुँदा उनी त्यहाँको सेनाका उच्च अधिकारी थिए । युद्ध सरदारहरुमध्ये सबैभन्दा शक्तिशाली र क्रुर उनी धेरै युद्धका संलग्न भएका छन् । एकैपटक ४५ हजार फौजको कमाण्ड समेत गरेका थिए । राजनीतिक धोकाधडीहरु समेत गरेर फाइदा लिएको इतिहास छ ।

दोस्तम अफगानिस्ताको उपराष्ट्रपति समेत भइसकेका छन् । उनीमाथि युद्ध अपराधको आरोप समेत छ । ६ फिट अग्ला दोस्तम सैन्य पोशाकमा बढी देखिन्छन् । बाक्लो जुँगा पाल्ने उनी डरलाग्दा देखिन्छन् । स्वास्थ्यको अति ख्याल गर्ने उनी दैनिक व्यायाम गर्छन् ।

तालिवान उनको प्रभाव क्षेत्र मजारे सरिफमा कब्जा जमाउन पुगेपछि अज्ञात छन् । उनी निकटस्थले सुरक्षित स्थानमा रहेको बताएका छन् । विगतमा तालिवानसँग सम्झौता गरेका उनले यसपटक के गर्लान् ? चासो बनेको छ ।

अट्टा मुहम्मद नुरः उनी युद्ध सरदार मध्ये शक्तिशाली मानिन्छन् । ताजिकी मूलका नुरले विगतमा सोभियत फौजसँग लडेका थिए । विगतमा तालिवानसँग अहमद साह मसुदको पक्षबाट कमाण्डरका रुपमा लडेका थिए ।

हमिद कारजाई राष्ट्रपति हुँदा उनी बाल्ख प्रान्तको गभर्नर बनाइए । उनी निकै धनाढ्य छन् ।

अमेरिकाले निकै साथ दिएको नुर अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तीको विरोधी हुन् । मजारे सरिफमा जन्मिएका उनको त्यहाँ विशेष प्रभाव छ । उनका प्रतिद्वन्द्वी दोस्तम नै हुन् ।

बीबी आयशाः उनी अफगानिस्तानकी एकमात्र महिला युद्धसरदार हुन् । बाग्लान प्रान्तमा उनको प्रभाव छ । उनीसँग सयौं योद्धाहरु छन् । कफ्टार अर्थात् परेवाको नामले चिनिने आयशाले दुई दशक अघि देखि सशस्त्र समूह राखेकी छिन् । उनले सोभियत फौज र तालिवानसँग पनि लडेको इतिहास छ ।

अफगानिस्तानमा महिलालाई सैन्य भूमिकाबाट वञ्चित गर्नुपर्ने धारणाको विपरित छिन् । उनले महिला र पुरुषले फरक नहुने योद्धाको जस्तो मुटु हुनुपर्ने धारणा राख्दै आएकी छिन् ।

आयशला तालिवानको तारोमा पर्दै आएकी छिन् । उनीमाथि गत वर्ष तालिवानको आक्रमणमा परेकी थिइन् । ७० वर्ष कटिसकेकी बिबी आयशाले तालिवानसँग सम्झौता गरेको चर्चा गत वर्ष नै चलेको छ ।

सिराजुद्धिन हक्कानीः खलिफाको नामले चिनिने सिराजुद्धिन हक्कानी नेटवर्कका नेता हुन् । उनी अहिले तालिवानका उपनेता हुन् । हक्कानी समुदायका नेता समेत रहेका उनको समुदायमाझ बलियो पकड छ ।

उत्तरी वाजिरिस्तानमा मुकाम रहेका उनले पाकिस्तान र अफगानिस्तान दुवै ठाउँमा रहेर सशस्त्र गतिविधि चलाइरहेका छन् । उनले अफगानिस्तानको काबुललगायत मुख्य शहरहरुमा बम हमला समेत गरेका छन् । तत्कालीन अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईको हत्या प्रयास समेत गरेका थिए । अमेरिकाले उनलाई पक्राउ गर्नेका लागि १ करोड डलर पुरस्कारको घोषणा गरेको थियो ।

अब्दुल मलिक पहलवानः उज्वेक समुदायका युद्धसरदार पहलवान उत्तरी अफगानिस्तानको फरयाव प्रान्तमा प्रभावशाली छन् । उनी अर्का युद्धसरदार रसिद दोस्तमका प्रतिद्वन्द्वी हुन् । उनका दाजु जनरल रासुल पहलवानको हत्या भएपछि उनले दोस्तमलाई आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्