Logo

‘क्रियाशिल सदस्यताको कारण अब महाधिवेशन रोकिँदैन्, चार दिनभित्रै सरकारले पूर्णता पाउँछ’ : रमेश लेखक (भिडिओसहित)



काठमाडौं, ३१ साउन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वनिक कार्यतालिकाअनुसार नै समयमा हुने विश्वास दिलाएका छन् । उनले भने,‘हाम्रो पार्टीको महाधिवेशनको नयाँ मिति हामीले सर्वसम्मतीको आधारमा घोषणा गरेका छौं, अब घोषित मितिमै महाधिवेशन हुन्छ ।’ कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको उनको जिकिर छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले हिजो केन्द्रीय समिति बैठकले सर्वसम्मतीले सार्वजनिक गरेको कार्यतालिकाबमोजिम नै काम हुने बताएका छन् । उनले भने,‘भदौ १८ गते वडा अधिवेशन सुरु हुन्छ, एवम् रितले अब सबै अधिवेशन हुँदै जान्छन्, मंसिर ९, १०, ११, १२ र १३ गते पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न गर्छौं ।’ उनले हिजो सार्वजनिक गरिएको महाधिवेशनको नयाँ कार्यतालिका संविधानसम्मत् नै रहेको पनि दाबी गरे । उनले भने,‘यो कार्यताकिाले संविधानको मर्म र भावनालाई समेटेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले क्रियाशिल सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे । उनले भने,‘हामीले ९७/९८ प्रतिशत काम सम्पन्न गरेर दिएका छौं। अधिकांश काम सम्पन्न गरेका छौं । छोटो समयमा हामीले काम सम्पन्न गरेर केन्द्रीय नेतृत्वलाई प्रतिवेदन बुझाएका छौं । ७५ जिल्लाको क्रियाशिल सदस्य त प्रिन्ट भैसकेको छ । तर, केही विवाद बाँकी छन् । हामीले दिएको प्रतिवेदन केन्द्रीय समितिले हिजो स्विकार गरिसकेको छ । र, हामीलाई धन्यवाद पनि ज्ञापन गरेको छ । हिजो बाँकी विवाद समाधानको लागि कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र मलगायत तीन जनाको समिति बनेको छ । अब बाँकी काम भदौ २ गतेभित्र सम्पन्न गर्छौं ।’

नेता लेखकले अब क्रियाशिल सदस्यताको विवादको कारण पार्टीको महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । फरक प्रंसगमा उनले अहिलेको सरकार गठबन्धनको सरकार भएकोले सरकारलाई पूर्णता दिने सवालमा केही ढिलाई भएको र यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । तर, अबको चार दिनभित्र सरकारले पूर्णता पाउने उनको दाबी छ । सरकारमा नेकपा (एमाले) को माधव नेपाल समूह आउँछ कि आउँदैन भन्ने कुरा यकिन नभएको पनि उनले टिप्पणी गरे ।

सरकारलाई सही तवरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याईसकिएको उनको भनाई छ । उनले भने,‘साझा न्यूनतम कार्यक्रम आएपछि सरकार विस्तार गर्ने कुरा थियो, अहिलेसम्म विस्तार हुन सकेन, यसमा ढिलाई भयो, यो कुरा म स्विकार गर्छु । तर, अब ढिलाई गर्नुहुँदैन् । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ ।’ उनले सरकारको पहिलो प्राथमिकता भनेको नै कोभिडको महामारीबाट मुलुक र जनतालाई जोगाउनु भएकोले सोहीअनुसार आफूहरुले कार्यक्रम ल्याएको पनि स्मरण गराए ।

नेता लेखकले कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको अहिलेको गठबन्धन लामो समयसम्म जाने पनि विश्वास दिलाए । उनले भने,‘हामीले लामो समयसम्म सहकार्य गर्ने भनेर नै यो गठबन्धन बनाएका हौं । मलाई लाग्छ, यो गठबन्धनले लामो समयसम्म सहकार्य गरेर नै अघि बढ्छ ।’ माधव नेपाल समूह सरकारमा आउने वा नआउने भन्ने कुरा त्यो नेपाल पक्षको मामिला भएकोले उक्त पक्षले गर्ने निर्णय आफूहरुलाई मान्य हुने लेखकको भनाई छ ।

नेता लेखकले नेपाल र भारतबीच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुद बनाउनुपर्नेमा जोड दिए । भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना दिँदै लेखकले भने–‘भारत सरकार र भारतीय जनतालाई हाम्रो तर्फबाट ७५औं स्वतन्त्रता दिवसको अवसरमा धेरै धेरै शुभकामना छ । भारत हाम्रो मित्रराष्ट्र हो । भारतसँग हामीले मित्रवत सम्बन्ध कायम राख्दै आएका छौं । आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ । सुदृढ बनाउनुपर्छ ।’

उनले नेपाल र भारतबीच पूरानो सम्बन्ध भएकोले दुई देशबीच केही समस्या भएको पनि स्विकारे । र, यसलाई कुटनीतिक सम्वादको मार्फत हल गरिनुपर्नेमा पनि उनको जोड थियो । उनले भारतसँग भएको सिमा समस्यालगायतका कतिपय समस्याको समाधान भने आपसी सहमति र सम्वादमार्फत हल गरिने बताए । उनले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राखेर द्धिपक्षीय सम्बन्ध अघि बढाउनुपर्ने बताए ।

अफ्गानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल नेपाल ल्याउनको लागि सरकारले विशेष पहल गर्नुपर्नेपनि उनको भनाई छ । उनले भने,‘नेपाल सरकारलाई मेरो विशेष आग्रह छ कि अफगानिस्तानमा अप्ठ्यारोमा रहेका नेपालीहरुलाई सकुशुल घर फिर्ती गर्नुपर्छ । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याईनुपर्छ । सरकार खासगरी प्रधानमन्त्रीज्यू र मन्त्रीहरुले पनि यो विषयमा गम्भीर भएर काम अघि बढाउनुभएको होला, सरकार गम्भीर भएर तत्काल पहलकदमी लिओस् ।’



प्रतिक्रिया दिनुहोस्